
दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा विद्युतीय मिल स्थापना भएपछि त्यहाँका नागरिकलाई सहज भएको छ। गाउँमा विद्युत पुगेको ५ महिनापछि चामुण्डा बिन्द्रासैनी नगरपालिका २ पुनडाँडामा मिल स्थापना भएको हो। हुन त पहिले पनि नगरपालिकाका विभिन्न स्थानमा डिजेलबाट चल्ने मिल स्थापना भएका थिए।
तर, विद्युत पुगेपछि नगरपालिकामा पहिलो पटक विद्युतीय मिल स्थापना भएको हो। उक्त मिल स्थापना भएपछि स्थानीयहरूलाई गहुँ मकैलगायत अरु अन्न पिन्नका लागि २र३ घण्टा हिनेर पानीबाट चल्ने घट्ट जानैपर्ने बाध्यता अन्त्य भएको छ। सोही नगरपालिका–२ पुनडाँडाका शिक्षक खगेन्द्र अधिकारीले उक्त मिल सञ्चालनमा ल्याएका हुन्।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा डेढ वर्षभित्र कर्णालीका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने घोषणा गरेको थियो। सोहीअनुसार ०८१/८२ मा उज्यालो कर्णाली भनेर १० करोड बजेट विनियोजन गरेको छ। हालसम्म कर्णालीका ७४.२४ प्रतिशत घरमा विद्युत पुगेको छ। विद्युत विस्तार हुने क्रममा नगरपालिकाका–१ नम्बर वडाबाहेक सबै वडामा विद्युत पुगेको छ।
१ नम्बरको पनि ३र४ टोलमा विद्युत पुगिसकेको छ। उनले गाउँमा विद्युत पुगेपछि एउटा विद्युतीय मिल खोल्ने योजना बनाए। र सोही योजनाअनुसार एक महिना अगाडि अधिकारी कृषि तथा पशुपन्छी फर्मद्वारा सञ्चालित अधिकारी कुटानी विद्युतीय मिल सञ्चालनमा आएको हो। मिलका अर्का सञ्चालक जीवन अधिकारीले गाउँमा बिजुली आएपछि अन्न पिस्नका लागि २/३ घण्टा हिँडेर पानीबाट चल्ने घट्ट जानैपर्ने बाध्यता अन्त्य गर्न मिल स्थापना गरेको बताउँछन्।

उनले भने, ‘सबैभन्दा पहिला गाउँमा बत्ती आयो। विभिन्न अन्न पिस्नका हाम्रो वरपरका विभिन्न टोलका मानिसहरु २र३ घण्टा हिनेर १र२ दिन बास बस्नुपर्ने बाध्यता थियो। अब हामीले फाइदाका लागि भन्दा पनि सहजताका लागि मिल सञ्चालनमा ल्याउने निर्णय गर्यौँ। हामीले फाइदा खोजका छैनौँ। न्युनतम रेटमा कुटानी पिसानी गरेका छौँ।’
मिल करिब ८ लाख लगानीमा स्थापना भएको हो। उक्त मिलमा सोही नगरका १, २ र ३ नम्बर वडाका मानिसहरु कुटानी पिसानी गर्न आउँछन्। त्यतिमात्र नभई अर्को पालिकाबाट पनि मिलमा कुटानी पिसानी गर्न आउने गरेको अधिकारीले बताए। हुन त सोही नगरको १ नम्बरमा डिजेलबाट चल्ने मिल रहेको छ। उक्त मिल सञ्चालनमा आएको २० वर्षभन्दा बढी भइसकेको छ।
तर त्यो मिलमा मानिसहरूले धान कुट्ने र तोरी पेल्ने निकाल्ने काम मात्र गर्थे। तर घट्टभन्दा डिजेलबाट चल्ने महँगो र घट्टजस्तो राम्रो पिठो नबनाउने भएकाले आफूहरु उक्त मिलमा नजाने गरेको स्थानीय बताउँछन्। भैरवी गाउँपालिका ६ का ७४ वर्षीय थानेश्वर सुवेदी भन्छन्, ‘टाढा भए पनि पिठो र अरू सुविधा भएकोले यहाँ आएका हौँ। ढिकीजाँतो चलाउने चलन हरायो। यहाँ मकै पनि फलेर पिन्छ खाँदा पनि स्वादिलो।’
त्यस्तै घट्टनजिकै रहेका स्थानीय राजु पौडेलले पनि घट्टभन्दा पिसानीमा राम्रो रहेकोले यो मिलमा आएको बताए। उनी भन्छन्, ‘हुन त हामी नजिकै पानीबाट चल्ने घट्ट छ यहाँ आउनभन्दा त्यहाँ जान नजिक पर्छ। तर पिसानीमा यो मिलमा राम्रो र छिटो हुने भएकाले यहाँ आएका हौँ।’ उक्त मिलले अहिले सुर्खेत नेपालगञ्जमा रहेका मिलहरुकै रेटमा कुटानी तथा पिसानी गर्छ। तर समय समयमा विद्युत जाँदा भने स्थानीय मर्कामा परेका छन्।
सञ्चालक अधिकारी भन्छन्,’ बल्ल बल्ल हामी दुई जना (खगेन्द्र र जीवन) मिलेर मिल त सञ्चालनमा ल्यायौँ तर समय समयमा बत्ती जान्छ। गयो भने १र२ घण्टा आउँदैन। टाढाबाट यहाँ आउनेहरु मर्कामा पर्नुहुन्छ। स्थानीय सरकारले जेनेरेटरमा सहयोग गरे हामीलाई सहज हुने थियो।’ सञ्चालकद्वय अधिकारीले वडा सरकार वा पालिकासँग जेनेरेटेर र मिल विस्ताका लागि सहयोग मागेका छन्।