२०८३ वैशाख ९ , बुधबार
अस्वाभाविक कारोबारबारे रविको बयान

‘सिधा कुरा’देखि कमाएको दाबी गर्दै भने- ‘श्रीमान् एउटै कुरा कति दोहोर्‍याऊँ’



काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सभापति रवि लामिछानेको बयान लिने काम सकिएको छ । कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले दुई दिन लगाएर लिइएको रविसँग बयान लिने काम सकिएको जानकारी दिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । उनले सरकारी वकिललाई दिएको इन्कारी बयान नै दोहोर्‍याएका छन् ।

न्यायाधीश नितिज राईको इजलासमा शुक्रबार रविले भने– ‘एउटै कुरा कति दोहोर्‍याऊँ श्रीमान् ? मैले सहकारीको पैसा गोरखा मिडियामा लगेको होइन, कर्मचारीको नाताले चेक काट्नु गल्ती हो र ?’ न्यायाधीश राईले सरकारी वकिल कार्यालयले बुझाएको अभियोग पत्र पल्टाउँदै रविलाई सोधे, ‘तपाईंको सम्पत्ति विवरण हेर्दा करोडौं रुपैयाँको बैंकिङ ट्रान्जेक्सन भएको देखिन्छ, यतिका रकम कहाँबाट आयो ?

’जवाफमा रविले टेलिभिजनमा सिधाकुरा जनतासँग कार्यक्रम चलाउँदादेखि सांसद र मन्त्रीसम्मको तलब, श्रीमतीको सम्पत्ति र पैत्रिक सम्पत्तिलाई जोडेर हेर्न भनेका थिए । रविले गोरखा मिडियामा आफूले काम गर्दाको तलब समेत जोडेर हेर्न आग्रह गरे । रविले बयानमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर ल्याए सबै तथ्य बाहिर आउने जिकिर समेत गरे । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार आज रविको बयान सकिएको छ ।

कार्यालयले अदालतमा दर्ता गरेको अभियोजन पत्रमा रविसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने माग दाबी गरिएको छ । रविको हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद तथा बिगोको दोब्बर जरिवाना गराउनुपर्ने माग दाबी अभियोग पत्रमा गरिएको छ ।

रविविरुद्ध सम्पत्ति शुद्धीकरण र सहकारी ठगीमा गरी कुल ३१ करोड २६ लाख बिगो कायम गरिएको छ । योसँगै रविसहित छविलाल जोशी, लिला पछाईंको बयान सकिएको छ । अन्य प्रतिवादीको बयान लिने क्रम जारी रहेको जिल्ला अदालत कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुस १२ गते शुक्रबार