२०८३ वैशाख ९ , बुधबार

कांग्रेस नेताहरूले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : वर्षमान पुन



रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारसँग नेपाली कांग्रेस र एमालेकै नेताहरू वाक्क हुन थालेको दाबी गरेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्‌घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको उनले बताए ।

‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो अव कम्युनिस्टहरू मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो रु एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो रु भन्नुहुन्छ । उहाँहरु विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस, भनिरहेका छौं,’ उनले भने, ‘तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरुको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं । यो हाम्रो प्रतिवद्धता हो ।’

पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए । ‘हामी अब सरकारमा जाने होइन । ०८४ सम्म जाँदैनौं भनेका छौं । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौं । अव हामी समाजवादी गणतन्त्रको विकल्पसहित हामी सरकारमा भएका स्थानीय तहहरूमा काम गर्छौं । हिजो हामी क्रान्तिकारी शक्ति थियौं । कांग्रेस एमालेसँग मिल्दा उनीहरूजस्तै हो कि भनेजस्तो देखियो । तर होइन । हामी समाजवादी गणतन्त्रका लागि काम गर्छौं,’ उनले भने ।

‘सरकार भ्रष्टाचार र विकृतिमा एकपछि अर्को काम गर्दै गएको छ । जनताले एक दिन प्रतिरोध गर्छ हामी जनतासँग हुनेछौं । दिनदिनैको गणितीय खेलमा हामी लाग्दैनौं । सरकार आफैं कुहिएको, भत्किएको वा झरेको अवस्थामा के गर्ने त्यतिबेलै सोचौँला,’ उनले भने ।

प्रकाशित मिति : २०८१ पुस १२ गते शुक्रबार