२०८३ वैशाख १७ , बिहीबार

कर्णालीका दुःख : आफ्नै उत्पादनले पुग्दैन् आफैलाई खान



कुलेन्द्र शाही, सुर्खेत कर्णाली प्रदेशमा ३०.५ प्रतिशत परिवारलाई मात्रै आफ्नै कृषि उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रदेशका ६९.५ प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खान नपुग्ने अवस्था रहेको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार कर्णालीमा ३ लाख २ हजार ६ सय ४० कृषक कृषि पेसामा संलग्न छन् । तर ती कृषकमध्ये ६९.५ प्रतिशत अर्थात् २ लाख १० हजार ३ सय ६ कृषक परिवारलाई आफ्नै उत्पादनले खान नपुग्ने पाइएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामा कृषि पेसा गर्ने कृषकको संख्या धेरै रहेको भए पनि यहाँका अधिकांश कृषक खाद्य असुरक्षित छन् । सुर्खेतमा ६२ हजार ५ सय २६ कृषक रहेकोमा ३५ हजार ३ सय ७८ कृषक परिवार खाद्य असुरक्षित रहेका छन् । यस्तै दैलेखमा ४९ हजार ६ सय ४६ कृषक मध्ये ३९ हजार १ सय ९ कृषक खाद्य असुरक्षित छन् । जाजरकोटमा ३३ हजार ४ सय ३१ कृषक रहेका छन्, जसमा २३ हजार १ सय ५९ कृषक परिवार खाद्य असुरक्षित छन् ।

सल्यानमा ४९ हजार २ सय ७४ कृषक मध्ये ३३ हजार ३ सय १७ कृषक खाद्य असुरक्षित छन् । रुकुम पश्चिममा ३२ हजार ७ सय ७३ कृषक मध्ये २३ हजार ८ सय ६ कृषक खाद्य असुरक्षित छन् । त्यस्तै, जुम्लामा २१ हजार ५ सय ४८ कृषक रहेका छन्, जसमा १४ हजार ३७ कृषकलाई आफ्नै उत्पादनले पुग्दैन । हुम्लामा ९ हजार ७०७ कृषक मध्ये ७ हजार १ सय कृषक खाद्य असुरक्षित छन् । मुगुमा १० हजार ९ सय २९ कृषक रहेका छन् । जसमा ७ हजार ८ सय २१ कृषक खाद्य असुरक्षित छन् ।

डोल्पामा ८ हजार ३ सय ७३ कृषक मध्ये ७ हजार २ सय ७७ कृषक खाद्य असुरक्षित छन् । कालिकोटमा २४ हजार ४ सय ३२ कृषक मध्ये १९ हजार ३ सय ८१ कृषक खाद्य असुरक्षित छन् । यसरी, कर्णाली प्रदेशका कृषकहरूलाई खाद्य असुरक्षितको सामना गर्नुपरेको तथ्याङ्कले प्रदेशमा कृषि उत्पादनमा सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्न थप ध्यान पु¥याउनुपर्ने आवश्यकतालाई जनाउँछ ।

प्रतिव्यक्ति १ सय ९८ किलोग्राम खाद्यान्न आवश्यक
कर्णालीको कृषि उत्पादनको प्रति व्यक्ति प्रतिवर्ष उपलब्धतालाई दृष्टिगत गर्दा खाद्यान्न १९८.३२ किलोग्राम, दलहन १३.११ किलोग्राम, तरकारी ८७.२८ किलोग्राम, आलु १२८.८९ किलोग्राम, फलफूल ४९.२५ किलोग्राम, मासु १४.८ किलोग्राम, दूध ६९.३२ लिटर र अण्डा १८ गोटा रहेको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले प्रतिव्यक्ति १२ किलोग्राम माछा, १४ किलोग्राम मासु, ९१ लिटर दूध र ४८ गोटा अण्डा वार्षिक न्यूनतम आवश्यकता पर्ने जनाएको छ ।

किन पुग्दैन आफैले उत्पादन गरेको खाना ?
कृषि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ६९.५ प्रतिशत कृषक परिवारलाई आफैले उत्पादन गरेको खान नपुग्ने अवस्था चिन्ताजनक हो । सिँचाइ पूर्वाधार, समयमा मल नपाइनु, अनुदानको न्यायोचित वितरण नहुनु लगायत कारणले वास्तविक कृषकलाई जीवन निर्वाह गर्न समेत समस्या भइरहेको छ । गुणस्तरीय बीउ बिजन, पशु नश्ल, मल, र विषादी समयमै र सहज रूपमा उपलब्ध नहुनु, कृषि बजार, शीत भण्डार, गोदाम र सङ्कलन केन्द्रहरू सञ्चालन गर्न आवश्यक विद्युत् क्षमता नहुनुले पनि कृषि पेसामा समस्या देखिन्छ ।

विकसित उपयुक्त प्रविधिहरू कृषक समुदायसम्म प्रभावकारी रूपमा प्रसार हुन नसक्नु, भूमि र श्रमशक्तिको उत्पादकत्व न्यून रहनु, जमिनको तीव्र खण्डीकरण हुनु, बाली वस्तुमा रोग किरा र प्राकृतिक प्रकोपले उत्पादनमा नकारात्मक असर गर्नु, उत्पादित खाद्यवस्तुहरूको समुचित भण्डारण, प्रशोधन, र मूल्य अभिवृद्धि गर्न नसक्नु, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा पर्न गएको प्रभावलाई कम गर्न नसक्नु, प्राङ्गारिक कृषि उन्मुख अनुसन्धान केन्द्र, प्रयोगशाला, अन्य पूर्वाधारको अभाव हुनुले कृषकले लाभ लिन नसकेको पाइएको हो ।

यस्तै कृषि पेसालाई सम्मानित बनाउन नसक्दा युवाहरूको वैदेशिक रोजगारमा जाने क्रम बढ्नु, खेती गरिएका जमिनहरूको खण्डीकरण हुनु, मानव र वन्यजन्तु बिचको द्वन्द्व, भू–क्षयको समस्या, मूल्य शृङ्खलामा काम गर्न नसक्नु र महिलाहरूले भरमा कृषि कर्महरू गर्ने समस्याले कृषि क्षेत्रबाट कृषकले लाभ लिन नसकेका हुन् ।

बाझिँदै पहाडका जग्गा 
कर्णालीको उत्पादनशील जग्गासमेत मासिँदै गएको पाइएको छ । पहाडको जग्गा पनि बाझिनँ थालेका छन् । रोजगारीको सिलसिलामा नागरिकको सहरकेन्द्रित बसाइसँगै वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेपछि गाउँका जमिन पनि बाझिँदै गएका हुन् । प्रदेश सरकार स्थापना भएदेखि कर्णाली सरकारको बजेट पूर्वाधार भन्दा सबैभन्दा बढी खर्च कृषि क्षेत्रमा भएको छ । तर पनि उत्पादन बढ्नुको साटो निरन्तर घट्दै गएको छ ।

प्रकाशित मिति : २०८१ पुस १५ गते सोमबार