
दिपेन्द्र शर्मा, जाजरकोट । कर्णाली प्रदेशको दुर्गम क्षेत्र जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ४ छरेबगरलाई जोड्ने झुलुङ्गे पुलको निर्माण कार्य २०३२ सालमा शुभारम्भ भएको थियो । त्यो समयमा यातायातका साधन सीमित थिए र जनताले नदी तर्ने साधनको अभावमा ठूलो सास्ती भोग्नु पथ्र्यो ।
पुलको निर्माणले तल्लोबगर र छरेबगरका बासिन्दालाई मात्र नभइ जाजरकोट, रुकुम पश्चिम र डोल्पा गरी करिब तीन जिल्लाका जनतालाई सहज आवतजावतको सुविधा पुर्याएको छ । पुलको निर्माण कार्य एक वर्षमै सम्पन्न भएको थियो । पुल निर्माण भएपछि पुलले नागरिक जीवनलाई परिवर्तन गर्न थालेको थियो । तर ४८ वर्ष लामो यात्रामा यो पुलले आफ्नो अवस्था गुमाउन थालेको छ ।
अहिले पुलको फलामका संरचनाहरूमा खिया लागेको छ । नट–बोल्ट फुस्किएका छन् पुल जीर्ण अवस्थामा छ रहेको छ । । पुल जीर्ण अवस्थामा पुगेपछि वर्षायाममा नदीको बहाव तीव्र हुँदा कतिपय मानिसले ज्यान समेत गुमाएका छन् । गोतामकोट, छरेबगर,लगाएत ठाउँबाट यो पुलले १ सय ५० भन्दा बढी विद्यार्थीहरूलाई तल्लोबगरको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयसम्म अध्ययन गर्न पुग्न सहयोग पु¥याइरहेको छ ।
यी विद्यार्थीहरू दैनिक जोखिम मोलेर पुल तर्ने गरेको स्थानीय बताउँछन् । व्यापार, शिक्षाको पहुँच, र स्वास्थ्य सेवा लिनका लागि पनि स्थानीय बासिन्दा यही पुलमा निर्भर छन् । बेलीब्रिजको प्रयोगमा समय र दूरी दुवै बढ्ने भएकाले जनताले जोखिम मोल्न बाध्य भएका हुन् । पुर्व वडा अध्यक्ष लालबहादुर खत्रीले आफ्नो कार्यकालमा झुलुङ्गे पुलको मर्मतका लागि ४ लाख रुपैयाँ खर्च गरिएको बताए ।
उनले पुलमा जाली र केही संरचनात्मक सुधार गरेका बताए । तर यो सुधार दीर्घकालीन प्रभावकारी हुन नसकेन उनको भनाइ छ । यस्तै वर्तमान वडा अध्यक्ष मोहन खत्रीले पुल मर्मत गर्ने योजनामा आफुहरु लागिरहेको बताए । उनले वडामा बजेट अपुग भएको हुँदा मर्मत गर्न नसकिएको बताए । स्थानीय प्रेम केसीले सरकारले यस क्षेत्रमा थप लगानी गरेर सुरक्षित र आधुनिक पुल निर्माण गर्नुपर्ने बताए ।
उनले यस झुलुङ्गे पुलले दुर्गम क्षेत्रमा रहेको तीन जिल्लाको जीवनसँग गाँसिएको हुँदा स्थानीय सरकार र प्रदश सरकारले ध्यान दिनुपर्ने बताए । जाजरकोट, डोल्पा, र रुकुम पश्चिमलाई सुलभ आवतजावतको सुविधा दिने यो पुल जीर्ण अवस्थामा रहे पनि यसको महत्त्व भने घटेको छैन । कर्णालीको दुर्गम भूगोल र यहाँका जनताको दैनिक जीवनलाई सहज बनाउने यो संरचना आधुनिक र दीर्घकालीन समाधानको रहेको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।