
मुगु । हिमाली जिल्ला मुगुमा परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानीघट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिजुली पुगेसँगै मिल सञ्चालन आएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने खोलाका पानीघट्ट, ओखल र जाँतो पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् । आधुनिक प्रविधिहरूको बढी प्रयोगले गर्दा छायाँनाथ रारा नगरपालिकाभित्र रहेका दर्जनौँ पानीघट्ट प्रयोगविहीन भएको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ टोप्ला गाउँका कृष्णबहादुर रावलले बताएका छन् ।
अहिले मिलबाट पिठो पिस्न थालेपछि पानीघट्ट ,ओखल र जाँतो कमै भेटिने गरेका छन् । मिलमा पिसेको पिठोभन्दा घट्टमा पिसेको पिठो निकै राम्रो र स्वादिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ का टोपबहादुर रावलले बताए । पछिल्लो समयमा पानीघट्ट, ओखल र जाँतो निमार्ण गर्ने व्यक्तिहरु पनि नभेटिनाले यी लोप हुदै गइरहेको वडा नम्बर ६ का ख्यामबहादुर रावलले बताए । कोदो, गहुँ र फाँपर पिस्नका लागि पुराना पुस्ताले प्रयोग गर्दै आएका ती पानीघट्ट पछिल्लो समय लोप हुँदै गएका हुन् ।
ती घट्ट सञ्चालनमा ल्याउने पुराना गाउँका अधिकांशले गाउँ नजिकको खोलामा घट्ट लगाउने र त्यो घट्टको भाग छोडेर परिवार पाल्ने गर्दथे । लोप हुन लागेका पानीघट्ट संरक्षणका लागि एक गाउँ एक पानीघट्ट, एक गाउँ एक ओखल निमार्ण गर्ने छायाँनाथ रारा नगरपालिकाको योजना रहेको उपमेयर ऐश्वर्या मल्लले बताइन् ।