काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले आफ्नो पार्टीको नाम टुङ्ग्याएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका छन् । सार्वजनिक अवधारणापत्र अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेको रावलको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।
सार्वजनिक भएको अवधारणापत्रअनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म सङ्गठन निर्माण गरिने छ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् । आफूले बनाउन लागेको पार्टी गैरकम्युनिस्ट हुने रावलले बताएका छन् ।
पाँच दशकभन्दा बढी समय कम्युनिस्ट राजनीति गरेका रावल अहिले आफ्नै पार्टी बनाउँदा भने गैरकम्युनिस्ट बनाउन कस्सिएका हुन् । एमालले पूर्वउपाध्यक्ष रावललाई गत पुस १० गते पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनले विभिन्न व्यक्ति र सङ्गठनसँगको भेटघाटमा तीव्रता दिँदै आएका थिए ।
