२०८३ वैशाख ९ , बुधबार

जिम्मेवारीमा रहेको बेला निर्भीकता पूर्वक काम गर्नुपर्छ : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारीमा रहँदा निर्भीकता पूर्वक काम गर्ने बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरपालिका स्तरीय उत्तम अभ्यास आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारले कुनै व्यक्तिका आकाङ्क्षा र चाहना पुरा गर्न नसके होला तर समग्रमा आम जनताको चाहना अनुसारको काम गरेको नहुँदा आफूले जिम्मेवारी पाएको समयमा निर्भीकता पूर्वक जनताको काम गर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

सुशासनको कुरा गर्दा सबैले साथ दिने तर कार्यान्वयन गर्दा हराउने तर नडगमगाई अघि बढ्यो भने सबैले समर्थन गर्ने परिस्थिति आउने मुख्यमन्त्री कँडेलको भनाइ थियो । कर्णालीको प्रमुख समस्या भनेको सुशासनको हो, स्रोत र साधनको सही प्रयोगको हो र योजना छनोटलाई पारदर्शी बनाउनुका साथै आवश्यकताको आधारमा बनाउने भएकाले त्यस काममा कर्णाली प्रदेश सरकार लागेको मुख्यमन्त्री कँडेलको दाबी थियो ।

अहिले जनतामा केही हुन्छ, कहीँ भएको छ र विकास गति लिन्छ भन्ने भावना बढेको महीले पाएको छु बाँकी कुरा जनताले मूल्याङ्कन गर्ने मुख्यमन्त्री कँडेलले बताए । कर्णाली प्रदेशलाई सङ्घीय सरकारले प्राथमिकता दिएर बजेट दिनु पर्ने भए पनि त्यस्तो हुन सकेको छैन, हामीले बुझाउनु पर्छ अबका दिनमा कर्णाली प्रदेशलाई विशेष व्यवस्था गरेर अगाडि बनाउनु पर्छ । कर्णाली प्रदेश सम्भावनाको खानी भएको प्रदेश भएकाले कर्णालीको विकासका लागि सङ्घीय सरकारले ध्यान दिनु पर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार