
सुर्खेत । कृषि क्षेत्र विकास कार्यक्रम वीरेन्द्रनगर सुर्खेतको आयोजनामा भेरीगंगा नगरपालिकामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेत, भेरीगंगा नगर पशुपन्छी विकास शाखा र सामुदायिक कृषि प्रसार सेवा केन्द्र भेरीगंगा ८ मैनतडाको प्राविधिक सहजीकरणमा उक्त शिविर वडा नम्बर–६ को झिङ्नीमा सम्पन्न भएको हो ।
शिविरको प्रमुख अतिथिका रूपमा नगर प्रमुख यज्ञप्रसाद ढकाल, विशेष अतिथि नगर उपप्रमुख धनसरा बोहोरा र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. राकेश प्रजापति रहेका थिए । उक्त शिविरमा १ हजार ७ सय बढी पशुहरूको स्वास्थ्य परीक्षण र उपचार गरिएको भेरीगंगा नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख भोजराज चपाइले जानकारी दिए ।
उनकाअनुसार पशु स्वास्थ्य शिविरमा १ हजार २ सय ७५ बाख्रा, ४ सय १० गाई भैँसी र ५२ कुकुरको निःशुल्क स्वास्थ्य उपचार गरिएको छ । शिविरको प्राविधिक सहजीकरण पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका डा. लोकेन्द्र न्यौपाने र भेरीगंगा नगरपालिकाका डा. विश्वराज विकले गरेका थिए ।