२०८३ वैशाख ९ , बुधबार
अपांगताका उदाहरणीय व्यक्ति

दुवै खुट्टा नभएका रामबहादुरको लक्ष्य ‘नयाँ घर’



कल्पना हमाल, सुर्खेत । दुवै खुट्टा गुमाएर पनि वीरेन्द्रनगरको मंगलगढीमा आरन पेसा गरेर बसेका रामबहादुर धेरैका लागि उदाहरणीय व्यक्ति बनेका छन् । आफूलाई अशक्त ठानेर पलायन हुनेहरूका लागि उनी “रोलमोडल” बनेका छन्।जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइलाई दैलेख भगवतिमाई गाउँपालिकास्थित बेस्तडाका ५७ वर्षीय रामबहादुर कामीले चरितार्थ गरेका छन् । बेस्तडामा २०२४ सालमा जन्मिएका कामी विगत लामो समयदेखि वीरेन्द्रनगरको मंगलगढी चोक नजिक आरनसम्बन्धी उद्योग सञ्चालन गरी जीविका चलाइरहेका छन् ।

२०४५ सालमा वीरेन्द्रनगर झरेका कामी वीरेन्द्रनगर १० लाटीकोइलीमा भाडाको घरमा बसेका थिए । उनले दैलेखकै एक महिलासँग २०३८ सालमा विवाह गरेका थिए। तर, केही वर्षमै उनको वैवाहिक जीवन विघटन भयो । पहिलो विवाहबाट उनका दुई छोरा र दुई छोरी छन् । रामबहादुरको मुख्य पेसा आरन थियो । तर जीवनका विभिन्न उतार–चढावका कारण उनले डकर्मी पेसा अपनाए र मिस्त्रीको काम गर्न थाले ।

एकदिन घर बनाउने क्रममा उनको खुट्टामा गम्भीर चोट लाग्यो । चोटले क्यान्सरको रूप लियो । उनले दुवै खुट्टा गुमाउनु पर्याे । दुवै खुट्टा गुमेपनि उनले आरन उद्योगको काम जारी राखे । दुवै खुट्टा गुमेपनि उनले हिम्मत हारेनन्। परिस्थितिसँग लड्दै र भिड्दै उनले आरन पेसा सम्हालिराखे। उनले राम आरन उद्योग नाम राखेर व्यवसाय सञ्चालन गरिरहेका छन् । कष्टपूर्ण जीवनमा उनले पहिलो पत्नीलाई खुट्टा भाँचिएपछि गुमाएका थिए । खुट्टा भाँचिएकै अवस्थामा उनको मोबाइलमा एक्कासि अपरिचित नम्बरबाट फोन आयो ।

फोन आएपछि उनीहरूको परिचय भयो । उनको फोनमा आएको नम्बर भएको मान्छेको घर पनि दैलेख नै रहेछ । त्यसपछि उनीहरूको निरन्तर कुरा हुन थाल्यो । कुरा हुँदै गर्दा दुवै जना बिचमा प्रेमको अङ्कुरण भयो।त्यसपछि उनले दैलेखमै दोस्रो बिहे गरे । बिहे हुनुभन्दा पहिले नै उनले सबै कुरा ती महिलालाई सुनाइसकेका थिए । उनकी श्रीमतीले सबै कुरा स्वीकार गर्दै उनीसँग बिहे गरिन् । उनीहरूले सबै समस्यासँग सहकार्य गर्दै अघि बढ्ने निधो गरेर बिहे गरे ।

बिहेपछि उनीहरू दैलेखबाट सुर्खेत आए । सुर्खेतमा आएपछि उनीहरू भाडाको घरमा बस्थे । रामबहादुरका खुट्टाहरूले काम गर्न छोडिसकेका थिए । भाडामा बस्दै आएका उनी समयमा भाडा तिर्न नसक्दा कैयौँ रात बाटोमै बिताएका सम्झन्छन् । उनकी जेठी श्रीमतीले आफ्नो बिजोग अवस्थामा पनि विभिन्न आरोप लगाई अर्कैसँग बिहे गरेको उनी सम्झन्छन् । उनको जीवन निकै कठिन अवस्थाबाट गुज्रँदै गइरहेको थियो। उनलाई प्रमुख समस्या आर्थिकको थियो।

रामबहादुरले आफू र आफ्नो परिवार कैयौँ दिन भोकै बस्नुपरेको सम्झन्छ। ‘धन सम्पत्ति केही छैन, जेठो छोराले बिहे गरेर दैलेख बसेको छ, कहिलेकाहीँ बुहारीले फोन गरेर यता आउनु भन्छे,’ उनी भन्छन्, ’त्यहाँ गएर मेरो काम छैन बरु यतै बस्छु। सकेसम्म यसरी नै जीवन धान्छु ।’ उनले कान्छो छोरो प्रायः मदिरा सेवन गरी घर आउने गरेको र आफूलाई धम्की दिने गरेको गुनासो गर्छन्। ‘कान्छो छोरो कहाँ जान्छ, के गर्छ, रक्सी खाएर कहिलेकाहीँ यहाँ आएर पैसा माग्छ,’ उनी भन्छन्, ‘आफैसँग तेल खाने, औषधि खाने पैसा हुँदैन अनि उसलाई मैले कसरी पैसा दिनु ! निकै डर लाग्दो गर्छ आफूलाई कुट्न समेत आउँछ ।’

उनले पैसा नभएको दिन भोकै बस्ने गरेको सुनाए । ‘पैसा नभएको दिनमा हामी भोकै बस्छौँ,’ उनी थप्छन्, ‘मेरो खुट्टा यस्तो भइहाल्यो । छोराहरू गतिलो भए पनि कति हाइसन्चो हुन्थ्यो होला ! तर के गर्नु भाग्य राम्रो रहेनछ । उनले आरन पेसाबाट पनि खासै राम्रो कमाइ नभएको गुनासो गर्छन् । पैसा भएको दिनमा खाद्यान्न सामाग्री किनेर खाए पनि पैसा नभएको दिनमा भोकै सुत्ने गरेको उनी दुखेसो गर्छन्। कामी भन्छन् ‘पैसा भएको दिनमा त राम्रैसँग खानेकुरा किनेर खान्छौँ, पैसा नहुँदा कति दिन भोकै बस्नु परेको छ ।

कहिलेकाहीँ लाग्छ कि यसरी बाँच्नु भन्दा छिट्टै मरिहालौँ ।’ रामबहादुर मात्रै त्यस्तो सोच्दैनन् उनकी श्रीमती पनि उस्तै सोच्छिन् । उनी पनि श्रीमानको यस्तो अवस्था अनि आफू पनि काम गर्न नसक्ने अवस्थामा भएकोले बरु मर्न पाए हुन्थ्यो भन्ने सोचाई आउने गरेको सुनाउँछिन् । उनी एकातिर आफू बिरामी छन् भने अर्कोतिर उनकी श्रीमती समेत बारम्बार बिरामी भइरहन्छिन् । ‘म त बिरामी थिए ठिकै थियो, श्रीमती पनि त्यस्तै भएर समस्या भएको छ, श्रीमतीले पनि काम गर्न सक्दिनन्, म आफै खाना बनाउने र आरनको काम गर्ने गर्छु ।’

उनले दुःख भनेको शरीर र स्वास्थ्यको कमजोरी हो । ‘आरनको व्यापार राम्रो छैन। काम गर्न सक्ने अवस्था पनि छैन, अनि राज्य अथवा कुनै संस्थाले सहयोग गरिदिए हुन्थ्यो !, ’ उनले भने, ‘एक दिन मैले एउटा घर बनाउने सपना देखेको थिएँ, तर त्यो सम्भव हुने छाँट छैन । मेरो खुट्टा र शरीरले पनि साथ दिइरहेको छैन ।’ उनले आरनबाट राम्रो कमाइ नभएको बताए।

उनले भने, ’हामीलाई न राज्यले सहयोग ग¥यो, न त कुनै संस्थाले ! उमेर बढ्दै गएको छ, आरनमा पनि काम गर्न सक्ने अवस्था छैन ।’ रामबहादुर सामान्य साक्षर मात्रै छन्। उनले प्रौढ शिक्षा पढेका छन् । “दुवै खुट्टा नचल्ने भएकाले उनलाई १७ वर्ष अगाडि एउटा संस्थाले ह्विलचियर दिएको थियो। अहिले उनको जीवनको सहारा त्यही ह्विलचियर भएको छ । कतै जाँदा र काम गर्दा ह्विलचियरबाट धेरै सहज भएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिक पत्रिकामा प्रकाशित छ । 

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार