२०८३ वैशाख ८ , मंगलबार
शिवालयमा बाली उपचार शिविर

कृषकलाई प्राविधिक सल्लाह र निःशुल्क निमजन्य विषादी वितरण



सुर्खेत। जाजरकोटको शिवालय गाउँपालिकामा बाली उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजना र सहास नेपाल पाइला परियोजनाको सहजीकरणमा उक्त शिविर सम्पन्न भएको हो । शिवालय गाउँपालिका वडा नम्बर–२ र ९ मा आयोजित यस शिविरमा किसानहरूले काउली, आलु, सुन्तला, गोलभेँडा, गहुँ, लगायत बालीका बालीका विभिन्न नमुना प्रस्तुत गरेको शिवालय कृषि विकास शाखामा कार्यरत प्राविधिक सहायक विश्वामित्र शर्माले जानकारी दिए ।

उनकाअनुसार किसानका आलुमा रातो कमिला लाग्ने गरेको, सुन्तलामा काठको गवारो रायोहरूमा विभिन्न किराहरूको प्रकोप, टमाटरमा डढुवाको समस्या देखिएको छ । शिविरमा बालीमा लाग्ने रोग, समाधानको उपाय, विषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाइदा बेफाइदालगायत कृषिसँग सम्बन्धित विविध जानकारी कृषकलाई गराइएको उनले बताए ।

पछिल्लो समय बालीमा लाग्ने रोगको सङ्क्रमणबाट बचाउनका लागि प्रयोग गरिने विषादीको दुरुपयोग भएको र यसलाई न्यूनीकरण गर्नुपर्ने उनले बताए । शिविरमा धुसीनाशक र निमजनिया विषादी निःशुल्क वितरणसमेत गरिएको छ । उनले शिविरमा विभिन्न समस्या समाधानका लागि प्राविधिक सल्लाह र उपचार विधि सिकाइएको बताए । यस्तै शिवालय गाउँपालिका–९ का वडाध्यक्ष दीपक खड्काले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार