
सुर्खेत । रुकुम पश्चिममा एक दम्पती मृत फेला परेका छन् । केटा घाँटीमा पासो लगाएको अवस्थामा र केटी भुईँमा लडेको अवस्थामा मृत भेटिएका त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नन्नराम बाँठाले जानकारी दिए । उनका अनुसार त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत भेटिएका हुन् ।
उनीहरूले ४ दिन अगाडि मात्रै भागेर विवाह गरेका थिए । ‘केटाको घर गाउँपालिकाकै वडा नम्बर चारको खुम्चेरी हो भने केटीको वडा नम्बर ६ को घोरेढुंगा हो । केटाले चार दिन अघि मात्रै भगाएर केटी ल्याएर बिहे गरेको थियो,’ अध्यक्ष बाँठाले भने । अध्यक्ष बाँठाका अनुसार लोकेन्द्रकी आमा बिरामी छिन् । उनको खुट्टामा रड राखिएको छ ।
आमाको खुट्टामा राखिएको रड निकालेर मात्रै केटी पक्षको घर जाने तयारीमा उनीहरू रहेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले युवा युवतीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरू शनिबार बिहान ९ बजेतिर लोकेन्द्रकै अस्थायी टहरामा मृत फेला परेका हुन् ।