२०८३ वैशाख ९ , बुधबार

सेवा प्रवाहमा निजामती सङ्गठनले महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने छ : मन्त्री शाह 



सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जनताको सेवा प्रवाहमा शुद्धता र निखारता ल्याउनका लागि निजामती सङ्गठनको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्। शनिवार नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दैलेखको १२औँ जिल्ला अधिवेशनमा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन्।

मन्त्री शाहले सङ्गठन अत्यावश्यक र ठुलो शक्ति भएको बताए। ‘सेवा प्रवाहमा शुद्धता, निखारता ल्याई जनताले सेवा प्राप्त गर्न सहज मान्ने अवस्था सिर्जना गर्न नेपाल निजामती सङ्गठनले महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने छ।’ मन्त्री शाहले भने।  यस्तै, मन्त्री शाहले समाजमा भएका हरेक बेतिथिको अन्त्य गर्न, अनियमितता अन्त्य गरी सुशासन कायम गर्ने कामको नेपाल निजामती सङ्गठनले नेतृत्व गर्नुपर्ने सुझाव दिए।

सरकारले ल्याएका राम्रा नीति, नियम र योजनाहरू कर्मचारीले कार्यान्वयन नगरेको खण्डमा लक्ष्य हासिल गर्न नसकिने बताउँदै देश निर्माण गर्ने महत्त्वपूर्ण जिम्मेवारी कर्मचारीको काँधमा रहेको मन्त्री शाहले उल्लेख गरे। साथै मन्त्री शाहले निजामती कर्मचारी सङ्गठन दैलेखको १२औँ अधिवेशनको सफलताको शुभकामना दिँदै इनर्जेटिक र डाइनामिक नेतृत्व आउनेमा विश्वास व्यक्त गरे।

‘सम्पूर्ण निजामती कर्मचारी एकजुट होऔँ’, ‘सङ्घीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नाराका साथ उद्घाटन भएको १२औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिबार