
काठमाडौँ । अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा विवाद भएको छ। उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना सुरु गर्नुअघि मसी फेरिएको भेटिएकाले मतगणनामा विवाद आएको हो। क्रान्तिकारीको निर्वाचन समितिका एक सदस्यका अनुसार मतदान सकिएपछि अध्यक्षका चारै जना उम्मेदवार र तिनका प्रतिनिधिबीच बदर मत कस्तोलाई मान्ने भन्ने विषयमा छलफल भएको थियो।
निर्वाचन निर्देशिकामा मतदान गर्दा कस्तो मसी प्रयोग गर्ने भन्ने तोकिएको छैन। वाल्मीकि मतदान केन्द्रमा मतदानका लागि प्रयोग गर्न रातो मार्कर राखिएको थियो। मतदान सम्मन्न भएपछि छलफलका क्रममा एक प्रतिनिधिले केही विद्यार्थीले आफैले ल्याएको कलम मतदानमा प्रयोग गरेको बताएका थिए। त्यसपछि त्यसरी भएका मतदनलाई सदर मान्ने कि नमान्ने भन्नेबारेमा चारै अध्यक्षका प्रतिनिधिसँग निर्वाचन समितिले छलफल गरेको थियो।
त्यस क्रममा विजयप्रकाश सापकोटा, उपदेश यादव र सुदिन पौडेलका प्रतिनिधिहरूले रातो मसीबाहेकका पनि एउटै मसी प्रयोग भएको छ भने सदर गर्नुपर्ने तर दुइटै मसी प्रयोग भएका छन् भने बदर गर्नुपर्ने बताएका थिए। हालसम्म प्रादेशिक गणना अन्तिम अवस्थामा पुगेको छ। अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले अग्रता कायम गर्दा हेमन्त राईले कडा टक्कर दिइरहेका छन्। उपदेश यादव र सुदिन पौडेल क्रमश तेस्रो र चौथो रहेका छन्।