२०८३ वैशाख ९ , बुधबार

बैंकमा चोरी गर्न लागेको अवस्थामा एकजना पक्राउ



दाङ । दाङमा बैंकमा चोरीको प्रयास गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार राती २ बजे तुलसीपुर उपमहानगरपालिका-५ स्थित एनएमबी बैंकको तुलसीपुर शाखा कार्यालयमा चोरीको प्रयास गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा पुगेको टोलीले चोरीको प्रयास गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधराज बस्ने २७ वर्षीय सन्तोष चौधरी रहेका छन् ।

चौधरीलाई बैंकको च्यानल गेटको ताला तोडेर भित्र पस्ने क्रममा पक्राउ गरिएको हो। पक्राउ परेका चौधरीको साथबाट चोरीको लागि प्रयोग हुने हतियार र उपकरणहरू बरामद गरिएको छ, जसमा हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेडलगायत सामाग्री रहेका छन् । साथै घटनास्थलबाट रा ५ प ९७९ नम्बरको स्कुटी पनि नियन्त्रणमा लिइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार