२०८३ वैशाख ९ , बुधबार
अछाम घटना

एउटै चितामा फूपु–भदैनीको अन्त्यष्टि, दुई जनामाथि मुद्दा दर्ता



सुर्खेत । अछाममा शनिबार ‘शंकास्पद्’ मृत फेला परेका दुई किशोरी (फूपु–भदैनी)को अन्त्यष्टि गरिएको छ । ढकेरी गाउँपालिका– ८ का १४ वर्षीया इसार खड्का र १५ वर्षीया सरस्वती खड्काको बुधबार गाउँकै बसाली खोलामा अन्त्यष्टि गरिएको हो । उनीहरू शुक्रबार (माघ ११ गते) बाख्रा चराउन ढकेरी– १ को साडेसा सामुदायिक वनमा गएको अवस्थामा बेपत्ता भएका थिए । शनिबार खोजतलास गर्दा दुवै जना क्षतविक्षत अवस्थामा मृत भेटिएका थिए ।

त्यसपछि उनीहरूको भेरी अस्पताल नेपालगञ्ज बाँकेमा पोष्टमार्टम गरी बुधबार अन्त्यष्टि गरिएको वडा नम्बर–८ का अध्यक्ष उद्वराज उपाध्यायले जानकारी दिए । पोष्टमार्टम रिपोर्ट आइसकेको छैन । अहिले गाउँ शोकमा रहेको छ । दुवै किरोकीमा बुबा रोजगारीका लागि भारतमा थिए । वडाध्यक्ष उपाध्यायका अनुसार उनीहरू घर आएपछि दुवै किशोरीको एकै चितामा अन्त्यष्टि गरिएको छ ।

ढकेरी– १ अछामको सदुरमुकाम मङ्गलसेनदेखि करिब ५०–५५ किलोमिटर दक्षिणतर्फ पर्छ । शंकास्पद मृत फेला परेका किशोरीको मृत्युको कारण भने खुलेको छैन । परिवारले अहिले हत्या भएको दाबी गरेको छ । ‘हत्याबाहेक त्यहाँ अरु कारण कुनै छैन । दुवै जनाको अनुहार क्षतविक्षत छ । शरीरका अन्य भागमा पनि चोट छ’, मृतक सरस्वतीका काका नाता पर्ने शेरबहादुर खड्काले भने ।

उनी दुवै जनालाई कसैले हत्या गरेर फालेको दाबी गर्छन् । ‘त्यहाँ ढुङ्गा आउने ठाउँ पनि छैन् । जङ्गल छ । त्यसैले ढुङ्गा आयो र त्यसैले लागेर मृत्यु भयो भन्ने ठाउँ पनि छैन’, उनले भने ‘लडेर भीरबाट छरिए भन्ने अवस्था पनि छैन । यस्तोमा हत्याबाहेक अरु त केही देखिदैन ।’ उनका अनुसार सरस्वती र इसराको शव १५ मिटरको दुरीमा छुट्टाछुट्टै भेटिएको थियो ।

५ जना पक्राउ, २ जनामाथि ज्यान मार्ने कसुरमा मुद्दा
दुई किशोरीको ‘शंकास्पद्’ मृत्युमा अनुसन्धान लागि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये ३ जनालाई छाडेर २ जनालाई ज्यानमार्ने कसुरमा जिल्ला अदालत अछाममा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर टेकबहादुर देउवाले बताए । ती दुई जनाको परिचय खुलाइएको छैन। तर वडा नम्बर ३ का युवाहरू रहेको बताइएको छ ।

इन्स्पेक्टर देउवाले ती युवा र किशोरीबीच चिनजान भएको देखिएको बताए । ‘धेरै कुरा खुलेको छैन । अहिले प्रदेश प्रहरीबाट अनुसन्धानको टोली आएर अनुसन्धान गरिरहेको छ’, उनले भने ‘ती युवा र किशोरीबीचमा चिनजान भने रहेको देखिएको छ ।’ प्रहरी अनुसन्धानमा युवा र किशोरीबीच फोन सम्पर्क भएको देखिएको छ ।

प्रहरीले स्रोतले ती युवाले हत्या गरेको स्वीकार गरेको बताउँछ। घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली पनि पुगेको छ । घटनाको अनुसन्धान भइरहेको र छिट्टै तथ्यहरू बाहिर ल्याउने तयारी भएको अछाम प्रहरी प्रमुख (डिएसपी) इश्वरीप्रसाद भण्डारीले बताए ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार