२०८३ वैशाख ९ , बुधबार

मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा लेखिएको सबै मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) सुर्खेतमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेशको चौथो अधिवेशनको उद्‌घाटन गर्दै नेपालको संविधानमा धेरै राम्रो र जनताको प्रतिनिधित्व गर्ने कुराहरू लेखिएको भए पनि अहिलेको देशको आर्थिक अवस्थाले गर्दा सबै कुराहरू पुरा गर्ने अवस्थामा सरकार नरहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

सरकारलाई संविधानमा लेखिएका सबै मौलिक हक पुरा गर्ने अवस्थामा पु¥याउन समय लाग्ने र त्यसतर्फ सरकार गएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । देश हामी सबैको भएकाले हामी सबै मिलेर देशको आर्थिक अवस्था सुधार गर्ने र देशमा नै रोजगारीको सिर्जना गर्ने काममा लाग्नु पर्ने दायित्व हामी सबैको भएको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

देशको विकास सरकारले एक्लैले भन्दा पनि निजी क्षेत्र सहित सबै मिलेर गर्नु पर्छ । प्रदेश सरकार जिम्मेवारीका साथ शिक्षा क्षेत्रको विकासमा लागेको छ त्यसमा निजी क्षेत्रले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकारात्मक भूमिका खेल्नु पर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो । कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रीय अध्यक्ष सहित शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार