
सुर्खेत । सुर्खेतको भेरीगंगामा बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । बिहीबार दिउँसो २ बजेको समयमा रत्नराजमार्गस्थित भेरीगंगा नगरपालिका–३ सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किएका थिए ।
बस र मिनी ट्रक ठोक्किँदा ट्रक चालक दैलेख गुराँस गाउँपालिका–१ बस्ने वर्ष ३१ का हिरा पुन मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले खबरदृष्टिलाई जानकारी दिए । उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेको उनले बताए ।
उनकाअनुसार घाइते हुनेहरूमा बर्दिया मधुवन नगरपालिका–१३ बस्ने वर्ष ३९ की पूजा थापा, मुधवन नगरपालिका–२ बस्ने वर्ष ५० की शान्ती थापा, बर्दिया गुलरिया–४ बस्ने वर्ष ६० की हरि राम गुडिया, वीरेन्द्रनगर–११ बस्ने वर्ष ६८ का पुरी चन्द्र भट्टराई रहेका छन् । यस्तै दैलेख डुङगेश्वर गाउँपालिका–१ बस्ने वर्ष २० का गणेश थापा, बस चालक वीरेन्द्रनगर–९ बस्ने वर्ष ४१ का थमन राना पनि घाइते भएका छन् । घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।