सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोलिदेखि सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव गर्दै आएको छ । यसअघि वीरेन्द्रनगरको बुलबुलेमा सञ्चालन हुँदै आएको कर्णाली उत्सव यस वर्ष भने वीरेन्द्रनगरको सिटी हलमा सुरु हुने आयोजकले जनाएको छ ।
तीन दिनसम्म चल्ने कुराकानीका माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको आयोजकले जनाएको छ । परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूपमा कर्णाली उत्सव कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको श्रङ्खला थालनी गरेको कर्णाली उत्सवमा विषयवस्तु निर्माणकर्ता प्रकाश लामिछानेले बताए ।
समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउने कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । तीन दिनसम्म चल्ने उत्सवमा विभिन्न विषयमा मन्थन हुने आयोजकले जानकारी दिएको छ । सोमबार देखि हुने उत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार बिहान १२ बजे उत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नेछन् ।
उद्घाटन सत्रमा मुख्यमन्त्री यामलाल कँडेल, भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमता वि.क, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारीका उप्रेती, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी र राजनीतिक चिन्तक आहुतीले उत्सवसँग सम्बन्धित विषयमा प्रस्तुति दिनेछन् ।