
सुर्खेत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आर्थिक अवस्था सुधार, राजनीतिक स्थिरता र सुशासन कायम गराउने उद्देश्यले दुई ठूला दल काँग्रेस र एमालेबीच सहकार्य भएको बताएका छन् । बिहीबार पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत आएका कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘देशमा सुशासन छँदैछैन भन्दा पनि फरक पर्दैन, आर्थिक अवस्था एकदमै कमजोर भएकाले हामी बेल्ट कसेर अघि बढ्नुपर्छ ।’ नेता कोइरालाले भने, त्यसैले आर्थिक अवस्था सुधार, राजनीतिक स्थिरता, सुशासन कायम गराउने उद्देश्यले अहिले दुई ठूला दल काँग्रेस र एमालेबीच सहकार्य भएको हो ।’
उनले आम निर्वाचनपछि महाधिवेशन गर्ने कुरा स्वीकार्य नहुने बताए । ‘अहिले चलेको हल्लाअनुसार निर्वाचनपछि पार्टीको महाधिवेशन गर्दा नेपाली कांग्रेस धेरै कमजोर हुन्छ,’ उनले भने, विधानअनुसार ढिलोमा डेढ बर्षमा अधिवेशन गरिसक्नुपर्छ,’ नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको दाबेदार भएको दाबी गरे ।
उनले कांग्रेसमा अहिले गुटउपगुट नरहेको र पार्टी देशभर बलियो रहेको बताए । अमेरिकाले रोकेको युएसएआईडी लगायतको सहयोगबाट नेपाल सजग हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।