प्रकाश शाही, सुर्खेत । वीरेन्द्रनगरको गणेशचोक– चिसापानी सडक कालोपत्रे भएको लामोसमय भइसक्दा पनि निर्माण कम्पनीले भुक्तानी रकम नपाएको भन्दै गुनासो गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले निर्माण व्यवसायीहरुलाई काम समयमै सम्पन्न गरे भुक्तानीको लागि समस्या नहुने भन्दै आस्वस्त पारेपनि प्रदेश सरकार मातहतकै कार्यालयहरुले रकम भुक्तानी दिईरहेका छैनन् । काम सम्पन्न भएको दुई महिना नाघिसक्दा पनि रकम नदिएपछि एक निर्माण व्यवसायी सिद्धदर्शनको सम्पर्कमा आएका थिए ।
उनले पद्रेश सरकारले तत्काल भक्तुानी हुने भनेपछि आफहुरुले ऋणसापट गरेर काम सम्पन्न गरिदिएको तर, काम सम्पन्न भएपछि भुक्तानी नगरीकन सरकार कानमा तेल हालेर सुतेको गुनासो गरे । ज्वाला पञ्चकोशी जेभि, स्टार जेभि कन्ट्रक्सन प्रालिले वीरेन्द्रनगरको गणेश चोकमा १ हजार २ सय मिटर सडक पिच गरेको र त्यसवापतको १ करोड २० लाख रुपैयाँ अहिलेसम्म भुक्तानी पाएको छैन । निर्माण व्यवसायी सूर्यबहादुर रावतले काम सम्पन्न भएपनि पुर्वाधार विकास कार्यालय सुर्खेतले रकम नदिएको गुनासो गरे ।
उनले आफुहरुले गत पुष १५ गते गुणस्तरीय हिसाबले काम सम्पन्न गरिसक्दा पनि पाउनुपर्ने रकम नपाएको भन्दै आक्रोश पोखे । उनले भने, ‘हामीले पनि पार्टीहरुलाई तिर्नुपर्ने हुन्छ । ऋण काढेर लगानी गरिएको हुन्छ ।’ ठेकेदारले काम सम्पन्न गरेपनि भुक्तानी नपाएको गुनासो गरेपछि पुर्वाधार विकास कार्यालय सुर्खेतका निमित्त निर्देशक सुर्यबहादुर शाहीसँग यसवारेमा कुरा गर्दा रकम नपाएको साँचो भएको उनको भनाइ थियो ।
उनले १ करोड २० लाख रकम भुक्तानी हुन बाँकी रहेको स्वीकार गरे । शाहीले सडक निर्माणको लागि वार्षिक बजेटमा कम रकम भएकाले भुक्तानीमा समस्या भएको स्वीकार गरे । शाहीले बजेट मागको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा फाइल पठाइसक्दा पनि मन्त्रालयले अहिलेसम्म रकम नपठाउदाँ निमार्ण कम्पनी मारमा परको भन्दै लाचारी व्यक्त गरे । ‘काम सम्पन्न भइसक्यो तर रकम भुक्तानी भएको छैन् । हामीले आर्थिक मामिला मन्त्रालयलाई बजेटको माग गरेर पठाइसकेको छौं ।
तर, मन्त्रालयले रकम पठाएको छैन ।’ कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मराहट्टाले पनि रकम अपगु हुँदा निर्माण कम्पनीलाई रकम भुक्तानी हुन ढिलाइ भएको बताए । यसको लागि अर्थसँग बजेट माग भइसकेकोले रकम प्राप्त हुनासाथ भुक्तानी गरिने प्रतिवद्धता जनाए ।