२०८३ वैशाख ८ , मंगलबार

राकममा आधारभूत अस्पताल सञ्चालनसँगै बन्दै छ स्याटेलाइट अस्पताल

१० जना स्थानीयले गरे ४२ रोपनी जग्गा दान


सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा पर्ने राकम कर्णालीमा निर्माण भएको आधारभूत अस्पताललाई विस्तार गरी स्याटेलाइट अस्पताल निर्माण गरिने भएको छ । आठबीस नगरपालिका–४, राकमस्थित आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको र १० दिनपछि सेवा सुरु गर्ने तयारी रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिए ।

आठबिस नगरपालिका–४ राकममा रहेको अस्पताल पालिका, प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रतिष्ठानले बनाएका हुन् । आठबिस नगरपालिका नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका उपकुलपति मंगल रावलबीच १० फागुन २०७६ मा अस्पताल सञ्चालनको जिम्मा लगाउने निर्णय भएको थियो । त्योबेला नगरपालिका र प्रतिष्ठानबीच एक सय श्य्यासहितको शिक्षण अस्पताल सञ्चालन गर्न कर्णाली प्रदेश र संघ सरकारसँग सहयोग माग्ने सम्झौता गरेका थिए ।

त्यस्तै, यही पुष १९ गते बसेको नगर सभाले आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । नगरपालिकाले आधारभूत अस्पतालका रूपमा विकास गर्न लागेको अस्पताललाई प्रतिष्ठानको मातहतमा रहनेगरी संघीय सरकारले प्रक्रिया थालेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सेनाले बताए । विगतको सम्झौताअनुसार नगरपालिकाले राकम कर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ ।

विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सक खटाउँदै आएको स्वास्थ्य शाखाले जनाएको छ । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसीजी ल्याबसहित फार्मेसी चलाइरहेको छ । साथै उपकुलपति रावल अनुसार सोमबार (माघ २८ गते) बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले उक्त आधारभूत अस्पताल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहत सञ्चालन गर्ने निर्णय गर्दै अस्पताल विस्तारका लागि थप भवन बनाउने निर्णय गरेको हो ।

नौ लाखभन्दा बढी जनसंख्या रहेको कर्णाली प्रदेशको केन्द्रबिन्दु दैलेखको राकममा बनेको उक्त अस्पतालको स्तरवृद्धि गरी ५० शय्यामा सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । डा. रावलले भने, ‘यस निर्णयले प्रतिष्ठानको भविष्यमा ठूलो सकारात्मक प्रभाव पर्नेछ । यस क्षेत्रका बासिन्दाका लागि स्वास्थ्य सेवाको सहज र प्रभावकारी पहुँच पुग्ने विश्वास छ । लामो समयदेखिको हाम्रो सपना पूरा हुँदै छ ।’

उनले थपे, ‘सरकारको मन्त्रिपरिषद् बैठकले आधारभूत अस्पताललाई प्रतिष्ठान जुम्लाको मातहतमा सञ्चालन गर्ने निर्णयअनुसार तत्कालका लागि यही आधारभूत अस्पतालबाट सेवा सञ्चालन गछौँ । त्यसपछि प्रतिष्ठानको नाममा राकममै रहेको ४२ रोपनी जग्गामा १०० शय्या स्याटेलाइट अस्पताल निर्माणका लागि बिस्तारै काम पनि थाल्छौँ । बजेट नभएका कारण भवन निर्माणलगायतका काम रोकिएका छन् ।’

१० लाखभन्दा बढी नागरिकले सेवा पाउने
स्याटेलाइट अस्पताल बनेपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका समेत विभिन्न जिल्लाका १० लाखभन्दा बढी नागरिकले उपचार सेवा पाउने उनको दाबी छ । उनले भने, ‘राकम कर्णालीमा अस्पताल सञ्चालनबाट सूदुरपश्चिम प्रदेशका अछाम, बाजुरा तथा कर्णाली प्रदेशका दैलेख, कालिकोट, हुम्ला, मुगु, जुम्ला र जाजकोटका अधिकांश नागरिकले सेवा पाउनेछन् ।’

डा. रावलले आधारभूत अस्पतालबाट प्रतिष्ठानले आफ्नो सेवा सुरु गरेपछि १०० शय्याको स्याटेलाइट अस्पताल निर्माणका लागि सहज वातावरण बन्ने विश्वास व्यक्त गरे ।

४२ रोपनी जग्गा दान
स्याटेलाइट अस्पताल बनाउन दैलेखको आठबीस नगरपालिका–३ कुमालखाँडामा १० स्थानीयले ४२ रोपनी जग्गा दान गरिसकेका छन् । वडाध्यक्ष नगेन्द्रराज कार्कीका अनुसार अस्पताल निर्माणका लागि स्थानीयले १ रोपनीदेखि १० रोपनीसम्म जग्गा दान गरेका हुन् ।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार