२०८३ वैशाख ८ , मंगलबार

सुर्खेत पुगेर रास्वपा सचेतक परियारले भने – रविलाई लखेट्न सिँगो राज्यसत्ता नै लाग्यो



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सिंगो राज्य लागेर रविलाई लखेट्न खोजेको आरोप लगाएका छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टीलाई समाप्त पार्न सिंगो राज्यसत्ता नै लागेको आरोप लगाएका हुन् ।

सत्ताधारी दलले अनावश्यक विवादमा पारेर पार्टी नै सक्काउन खोजेको बताउँदै रास्वपालाई समाप्त गर्ने प्रयास परिवर्तनकारीहरूविरुद्ध रहेको उनको दाबी थियो ।सचेतक परियारले दुई तिहाई सरकारले गरेको काममा आफुहरु असन्तुष्ट रहेको बताए । ‘दुई तिहाइको सरकार छ तर पनि काम गर्न नसकेर रनभुल्ल भएको छ ।’ उनले भने, ‘सरकारले जनताको सेवा गर्न नाममा जनतालाई नै घाइते बनाएको छ ।’

सचेतक परियारले नेपालको आर्थिक अवस्था झनै कमजोर बन्दै गएको बताउँदै मुख्य राजनीतिक दलहरु नै रास्वपालाई सक्नमा व्यस्त भएको बताए । उनले रवि लामिछानेको सांसद पद निलम्बन गर्नकै लागि सम्पति शुद्धिकरणको मुद्दा लगाएको आरोप लगाए । पुराना दल जनताको पार्टी बन्न नसक्दा रास्वपाको उदय भएको उनको दाबी थियो ।

‘रास्वपाको उदयले पुराना राजनीतिक दलहरु डराएका छन् । त्यसैले रास्वपा नबने नयाँ पुस्तालाई समेत घाटा हुन्छ’ उनले भने, ‘रास्वपालाई ढाल्ने प्रयत्न भइरहेको छ । यदि रास्वपा सिद्दिएमा कैयौ वर्षसम्म नयाँ धार खडा हुने छैेनन्, त्यो सम्भव पनि छैन, यी पुरानै दलले जनतालाई ठगिरहने छन् । त्यसैले रास्वपा बनाउनमा नयाँ पुुस्ताले साथ दिनुुपर्छ ।’

पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुक निर्माणको जिम्मा रास्वपाले इमानदार र गम्भीर भएर लिन चाहेको उनले स्पष्ट पारे । साथै सचेतक परियारले अहिले सभापति लामिछानेसँग निरन्तर आफ्नो छलफल भइरहेको र अदातलमा मुद्दा चलिरहेका कारण कुनै पनि बिषयमा नबोल्ने बताउनु भएको बताए ।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार