
सुर्खेत । सिम्ता गाउँपालिकाले १५ शैय्याको आधारभूत अस्पतालको सेवा सुरु गरेको छ । बुधवार गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द, उपाध्यक्ष गोमा शर्मा (रेग्मी) र सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलले सयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका हुन् ।
उक्त अस्पतालमा डा. नवीन काफ्ले र डा. आशिष यादवले सेवा दिने गाउँपालिका अध्यक्ष चन्दले जानकारी दिए । अस्पतालको उद्घाटनसँगै अब यहाँ भिडियो एक्स–रे, ल्याब सेवा, आकस्मिक सेवा, बहिरङ्ग र अन्तरङ्ग सेवा, साथै एम्बुलेन्स सेवा पनि उपलब्ध हुने चन्दले बताए ।
यसरी अस्पताल सुरु भएपछि सिम्ता र आसपासका नागरिकले साना स्वास्थ्य उपचारका लागि मेहेलकुना, वीरेन्द्रनगर, नेपालगञ्ज लगायतका अन्य स्थानमा जानुपर्ने बाध्यतासमेत समाप्त हुने अध्यक्ष चन्दको दाबी छ । सुर्खेतको चिङ्गाड, जाजरकोटको शिवालय र सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका केही भागहरू समेत सिम्ता गाउँपालिकामा जोडिएको हुँदा उक्त ती क्षेत्रका नागरिकहरूले पनि अस्पतालको सेवा लिने अपेक्षा गरिएको छ ।