सुर्खेत । नेकपा (एमाले) लेकवेशी नगर कमिटीको स्कुल विभागको आयोजनामा दुईदिने पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेकपा (एमाले) लेकवेशी नगर कमिटीका अध्यक्ष देव बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको हो । नीति, सिद्धान्त, सङ्गठनात्मक सुदृढीकरण र कार्यकर्ताहरूको वैचारिक स्पष्टता अभिवृद्धि गर्नका लागि प्रशिक्षण कार्यक्रम गरिएको नेकपा (एमाले) लेकवेशी नगर कमिटी सचिव राजु पौडेलले जानकारी दिए ।
उनकाअनुसार कार्यक्रममा प्रमुख अतिथिका रूपमा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कँडेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नेकपा एमाले मात्रै देशको विकास गर्ने पार्टी भएको बताए । उनले नेकपा एमालेले अवसर पाउँदा र सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको दाबी गरे ।
‘एमाले जनताले विश्वास गरेको पार्टी हो, त्यस कारण चुनाव जित्न अहिलेकै सङ्ख्याले पुगे पनि देश बनाउन अरू आवश्यक हुन्छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘त्यसैले जनतालाई बुझाउन पार्टीले जरा अभियान चलाएको हो ।’ एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलको दाबी छ ।
एमालेमा विगतमा सदस्य धेरै हुने र चुनावको बाकसमा कम मत आएको हुनाले आफ्नो सदस्यता आफैँ नवीकरण गर्ने नीति लिएको हुँदा जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलको भनाइ थियो । साथै, केन्द्रीय कमिटी सदस्य ठम्मर विष्ट, केन्द्रीय सल्लाहकार परिषद् सदस्य गेहेन्द्र प्रसाद दाहाल तथा एमाले नेता कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको सचिव पौडेलले जानकारी दिए ।
प्रशिक्षकहरूले पार्टीको सङ्गठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता, अनुशासन र कार्यकर्ताहरूको भूमिकासम्बन्धी महत्त्वपूर्ण प्रशिक्षण दिएका थिए । यस कार्यक्रममा प्रमुख प्रशिक्षकहरूले अनुशासित, सशक्त र विचारधारात्मक रूपमा दृढ कार्यकर्ताको निर्माण नै प्रमुख लक्ष्य रहेको बताएका थिए ।