
कुलेन्द्र शाही, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका ५ मा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। मंगलवार शिवालय गाउँपालिका–५ थालारैकरस्थित वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष गोपाले दमाईले चालु आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन भएका कामहरूको बारेमा वडावासीलाई जानकारी गराएका थिए ।
उनले वडा कार्यालयलाई प्राप्त बजेटको आधारमा भए गरेका उपलब्धिहरूलाई सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराएका थिए ।उनले वडा कार्यालयलाई प्राप्त बजेटको उपयोग, सम्पन्न भएका योजनाहरू र भविष्यका योजनाबारे समेत धारणा राखे। सुनुवाइ कार्यक्रममा सहभागीहरुले वडाको सेवा प्रवाहमा ढिलाइ, पारदर्शिताको अभाव, तथा रोजगारी कार्यक्रममा आफन्तप्रतिको पक्षपातलगायत विभिन्न गुनासा राखे।
विद्युत् विस्तारको विषयमा समेत प्रश्न उठाउँदै सहभागीहरूले वडा अध्यक्षले मीटर बक्स ल्याउने आश्वासन देखाउँदै जनताबाट उठाइएको रकम अनुसार हालसम्म मीटर बक्स नआएको भन्दै असन्तुष्टि जनाए। वडा सदस्य गौरु शाहीले वडामा गरिने निर्णयहरूमा सदस्यहरूको सहभागिता नहुने, रोजगारी कार्यक्रम अपारदर्शी हुने आरोप लगाए।
यस्तै नेपाली कांग्रेस शिवालय गाउँपालिका कार्यसमिति सचिव कृष्ण बहादुर शाहीले वडामा केही परिवर्तन भएपनि देखिने खालका कुनै पनि काम नभएको दाबी गरे । उनले वडाको सेवा प्रवाह कछुवा गतिमा भएको टिप्पणी गरे। यस्तै वडा सचिव केशर बहादुर शाहीले वडामा कर्मचारीको अभाव हुँदा पनि आफूहरूले सेवा प्रवाह गरिरहेको बताए।
सवालको जवाफ दिँदै वडाध्यक्ष दमाईले जनताको सुझावलाई प्राथमिकतामा राखेर आगामी नीति तथा बजेट निर्माण गरिने प्रतिबद्धता जनाए। उनले आफूहरबाट केही कमजोरीहरू भएको स्वीकार गर्दै सुधार गर्ने बताए। साथै विकास निर्माणमा सबै वडावासीको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा स्थानीय नागरिक समाज, बुद्धिजीवी, शिक्षक, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी करिब ५० जनाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव शाहीले गरेका थिए ।