२०८३ असार २ , मंगलबार

प्राकृतिक सौन्दर्य फर्काउन बराहमा माछाका भुरा राखियो



सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–४ मा रहेको सुर्खेत जिल्लाकै ठूलो ताल बराहतालमा माछाका भुरा छाडिएको छ । पछिल्लोसमय पर्यटकीय स्थलका रूपमा चर्चित बन्दै गएको बराहतालमा ६० हजार माछाका भुरा हाल्ने लक्ष्य राखिएकोमा सोमबार ३० हजार माछाका भुरा छाडिएको पशुपन्छी विकास निर्देशनालयका सूचना अधिकारी मोहोन गिरीले जानकारी दिए।

गिरीले प्राकृतिक ताल तलैयाहरुमा माछापालन गरिदा सौन्दर्य र पर्यटन विकासको लागि समेत महत्त्वपूर्ण हुने भन्दै निर्देशनालयले चालू आवमा माछा भुराका लागि १ लाख बजेट बिनियोजन भएको जानकारी बताए। तालमा भएका माछा हराउँदै गएका कारण ग्रासकार र कमनकार जातका माछा राखिएको र भुरा माछालाई हुर्काउन सके भविष्यमा यिनैवाट प्रजनन भई तालमा माछा भैरहने जानकारी दिए।

प्राकृतिक ताल तलैयामा माछाका भुरा छाड्ने कार्यक्रमलाई अभियानकै रुपमा कर्णाली प्रदेशभर विस्तार गरिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कामु सचिव परशुराम रावतले खुलासा गरे। उनले प्राकृतिक जलाशयलाई सुन्दर र पर्यटक मैत्री बनाउन माछाका भुरा छाडिएको बताए ।

उनले माछाका भुरालाई कर्णाली प्रदेशका प्राकृतिक ताल(तलैया र स(साना खोलाहरुमा छाडिदिदा प्रदेश समृद्धिको आधार बन्ने उनको भनाइ थियो। सचिव रावतले छाडिएका माछा संरक्षण गर्नुपर्ने प्रमुख दायित्व समुदायको हुने भन्दै माछाको बृद्धि-विकासमा चनाखो रहन आग्रह गरे।

‘जैविक विविधता, प्राकृतिक सुन्दरता र पर्यटक आकर्षण गर्ने महत्त्वपूर्ण उद्देश्य राखेर हामी यहाँ आएका छौं, यो कार्यक्रम सफल बनोस भन्ने कामना छ,’ सचिव रावतले भने। बराहताल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष बिर्खबहादुर सिजापतिले तालमा माछाका भुरा माछालाई समुदायले संरक्षण गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘ सोमवार ३० हजार हालिएको र बुधबारका दिन थप ३० हजार गरि ६० हजार माछाका भुरा हाल्ने लक्ष्य राखेकोमा पशुपन्छी विकास निर्देशनालयलाई धन्यवाद दिन्छु ।’ ‘ताल हेर्न आउने आन्तरिक पर्यटकहरूका लागि विविध संरचना विकास गर्नु चूनौतीपूर्ण छ। वराहलात पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘ यो ताल करिब १६ बिघा क्षेत्रफलमा फैलिएको छ ।

भेरी नदीको करिब एक सय ५० मिटर उचाइमा रहेको तालमा विभिन्न समयमा अनौठा प्रजातिका चराहरू देख्न सकिन्छ ।’ पर्यटकीय हिसाब ठूलो संभावना बोकेको सुर्खेतकै ठूलो र निकै मनोरम ताललाई संरक्षण तथा प्रवद्र्धन गर्न वडाले अहिले काम गरिरहेको वडाध्यक्ष सिजापतिको भनाइ छ ।

तालमा माछा छाड्नु अघि तालको बीचमा रहेको बराह मन्दिरका पुजारीको उपस्थितिमा सचिव रावतले क्षमा पुजा गरेका थिए। अनकन्टार जंगलको बीचमा रहेको तालमा वाहिरीया व्यक्तिले फोहोर गरे, वराह भगवानको ईच्छा विपरीतका गतिविधि गरे अनिकाल लाग्ने,खडेरी पर्ने जनविश्वास छ।

प्रकाशित मिति : २०८२ वैशाख १६ गते मंगलबार