२०८३ वैशाख १८ , शुक्रबार

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन



सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिका–७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय, जुँगाथापाचौरमा कक्षा १२ को परीक्षा दिँदै गरेका विद्यार्थीहरूले मोबाइल हेरेर परीक्षा दिँदै गरेको तस्बिर सार्वजनिक भएको छ । वैशाख २१ गते देखि जारी कक्षा १२ को परीक्षामा २६ गते भएको सामाजिक विषयको परीक्षामा खिचिएको तस्बिर खबरदृष्टिलाई उपलब्ध भएको छ ।

सोही विद्यालयमा परीक्षा दिइरहेका एक परीक्षार्थीले नाम नखुलाउने शर्तमा खबरदृष्टिलाई उक्त तस्बिर उपलब्ध गराएका हुन् । “सामाजिक विषयको दिनमा फोटो मैले नै खिचेको हो,“ति विद्यार्थीले भने, “परीक्षा दिने विद्यार्थी शिवालय–३ स्थित सरस्वती माध्यमिक विद्यालय, सिमाका हुन् । म ती विद्यार्थीहरूलाई चिन्छु ।’

उनले उक्त तस्बिर परीक्षा सकिने बेला करिब ११ बजे खिचेका हुन् । यस विषयमा विद्यालयका केन्द्राध्यक्ष शेर बहादुर खत्रीसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । यता, शिवालय गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत मान बहादुर बस्नेतले भने छानबिन नगरीकनै उक्त फोटो शिवालयको नभएको दाबी गरे । उनले उल्टै सञ्चारकर्मीमाथि प्रश्न उठाउँदै तस्बिर अन्यत्रको हुन सक्ने तर्क राखे ।

शिवालय गाउँपालिका–७ का वडा अध्यक्ष टाइरेन्ट शाहीले फोटो यस विद्यालयको हो भन्ने ठोस आधार नभएको तर यस विषयमा यथार्थ पत्ता लगाउन छानबिन गर्ने बताए । यस्तै आइतवार विद्यालयले प्रेस विज्ञप्ति जारीस् गर्दै उक्त तस्बिर यहाँको नभएको दाबी गरेको छ । केन्द्राध्यक्षद्वारा हस्ताक्षित विज्ञप्तिमा ‘परिक्षा केन्द्रको नाम जोडी भ्रमाक समाचार आफ्नो फेसबुक आइडी प्रयोग गरी सामाजिक संजालमा संम्प्रेषण गरेको कुराप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘निजले सम्प्रेषण गरेको समाचारमा कुनै सत्य र तथ्य नभएको विद्यालयको बदनाम गर्न बदनियतपर्ण तरीकाले उक्त समाचार बनाइएकोले यस्तो भ्रामक कुरामा कोही कसैले पनि विश्वास नगर्न समेत हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफुलाई पत्रकार भन्ने कुलेन्द्र शाहीले अन्य विद्यालयको सिकाई ग्रुपमा भएको प्रश्नको फोटो राखेर भ्रामक समाचार संम्प्रेषण गरेको हुँदा राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगत के बदनाम हुने गरी गतिविधि गर्ने यस्ता जो कोही व्यक्तिलाई सत्य तथ्य छानविन गरी कानुनी कारबाही गर्न समेत सम्बन्धीत पक्षसंग जोडदार माग गर्दछु ।,’

विद्यालय र पालिकाका कर्मचारीले उक्त तस्बिर वीरेन्द्र माविको नभएको दाबी गरे पनि खबरदृष्टिलाई तस्बिर पठाउने विद्यार्थीले भने सोही विद्यालयको भएको दाबी गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा मोबाइल लगायत विद्युतीय सामग्रीहरू लैजान निषेध गरेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार