२०८२ माघ १७ , शनिबार

स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग



डोल्पा । राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैटौं स्थापना दिवसको अवसरमा डोल्पा शाखाले शैक्षिक सामग्री वितरण गरेको छ। संघले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ स्थित हिमज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामनासहित शैक्षिक सामग्री सहयोग गरेको हो। आइतवार संघको स्थापना दिवसको अवसरमा जिल्ला शाखाका अध्यक्ष पुर्ण सार्कीद्वारा विद्यालयमा अध्ययनरत झण्डै ५० जना विद्यार्थीहरुलाई कपी र कलम वितरण गरिएको हो।

दलित समुदायका विद्यार्थीहरूको लागि मात्रै २०५१ सालमा स्थापना गरिएको उक्त विद्यालयमा गुणस्तरीय शैक्षिकस्तरसँगै अहिले अधिकांश समुदायको पहिलो रोजाइ बन्दै गरेको छ। विद्यालयमा अझै पनि ८० प्रतिशत दलित सार्की समुदायका विद्यार्थीहरुले पठनपाठन गर्दै आइरहेका छन्। विद्यालयका प्रधानाध्यापक मन बहादुर सार्कीले स्थापना दिवसमा विद्यार्थीका लागि थोरै भएपनि शैक्षिक सामग्री वितरणको लागि आफ्नो विद्यालयलाई सम्झेकोमा संघ र जिल्ला शाखाका अध्यक्ष सार्कीलाई धन्यवाद दिए ।

देशभर विभिन्न सञ्चार माध्यममा आवद्ध समग्र दलित समुदायका छाता संगठनको रुपमा करिब १२ सय दलित पत्रकारहरुको पेसागत हकहितका संरक्षणका लागि २०७६ साल जेठको १८ गते नेपाली पत्रकारिता क्षेत्रका अग्रज पत्रकार विनोद पहाडीेको नेतृत्वमा संघको विधिवत रूपमा घोषणा गरिएको थियो । संघको स्थापना भएको छैटौं वर्षको अवधिमा देशभरका ७७ वटै जिल्लामा जिल्ला शाखाको गठन गरिएको छ।

प्रकाशित मिति : २०८२ जेठ १८ गते आइतबार