
जाजरकोट । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त सडक खण्डको भौतिक प्रगति नगण्य मात्रामा रहेको र हालसम्म पनि ट्र्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर यथाशक्य छिटो सडक निर्माण कार्य सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।
त्यस्तै समितिले मध्यपहाडी राजमार्गमा अन्य विभिन्न खण्डमा पर्ने कामलाई तीव्रता दिने र बाटोको गुणस्तर सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिन समेत मन्त्रालयलाई निर्देश गरेको छ। बैठकले भेरी नदीमाथि पुल निर्माणका लागि २०७७ सालमा टेण्डर भएको भएता पनि हालसम्म निर्माण सम्पन्न नभएका कारण जनतालाई असुविधा भएकाले टेन्डर प्रक्रियामा उपयुक्त विकल्प खोज्दै आगामी आर्थिक वर्षभित्र उक्त पुल निर्माण सम्पन्न गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिए।
बैठकमा समिति सदस्यहरूले दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तारकार्य यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।