२०८३ जेठ २० , बुधबार

हुँदै नभएको विद्यालय देखाएर ७ लाख बढी रकम हिनामिना

चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


डोल्पा । डोल्पामा हुँदै नभएको काल्पनिक विद्यालय देखाएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दयार गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनीहरूले आपसी मिलेमतोमा ७ लाख ६० हजार रुपैयाँको भ्रष्टाचार गरेको आयोगको अभियोग छ । २०६६र०६७ मा डोल्पाको साविक दुनै गाविस–२ र ३ मा अवस्थित नभएको ‘दुर्गा प्राथमिक विद्यालय, तिप्ला’को नाममा विद्यालय भवन निर्माणको योजना पारिएको र त्यसअन्तर्गत रकम निकासा भएको पाइएको थियो ।

अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालय नामको कुनै पनि विद्यालय त्यस स्थानमा कहिल्यै सञ्चालनमा नरहेको जिल्ला शिक्षा कार्यालय डोल्पाको पत्र र अख्तियारको प्राविधिक टोलीद्वारा संकलित स्थलगत तथ्यहरूले पुष्टि गरेको आयोगले जनाएको छ ।उक्त विद्यालयको नाममा २ कोठे भवन निर्माणका लागि ७ लाख ६० हजार रूपैयाँ विनियोजन गरिएको थियो ।

तर, भवन नबनाइ नक्कली उपभोक्ता समिति बनाएर फर्जी कागजात तयार पारिएको र सोही आधारमा उक्त रकम बैंक खातामार्फत भुक्तानी लिइएको अख्तियारले जनाएको छ । अख्तियारले चारै जनालाई जनही ७ लाख ६० हजार बिगो कायम गरेको छ ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार