सुर्खेत । कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सवारी चालक हिम बहादुर बिष्ट सम्पर्कविहीन भएका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ स्थायी घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–३ तातापानीमा बसोबास गर्दै आएका २९ वर्षीय बिष्ट असार ५ गते बेलुकी मन्त्रालयकै कर्णाली प्रदेश ०२००१ ब ००७२८ नम्बरको मोटरसाइकल लिएर कोठातर्फ गएका थिए ।
असार ६ गते बिहान उनले आफू बिरामी भएको र कार्यालय आउन नसक्ने जानकारी दिएका थिए । त्यसयता उनीसँग सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथोकीले जानकारी दिए । उनले लिएको मोटरसाइकल असार ९ गते बिहान भेरीगंगा नगरपालिका–२ को भेरीपुलदेखि पूर्वतर्फ ५० मिटर टाढा छिन्चु सडकखण्डको छेउमा पार्किङ गरिएको अवस्थामा फेला परेको डिएसपी बुढथापाले बताए ।
चालकको मोबाइल फोन स्विच अफ अवस्थामा रहेको बताइएको छ । हराइरहेका चालकको खोजीका लागि इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक पदम बहादुर खत्रीको कमाण्डमा ७ जनाको टोली र प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक तपेन्द्र कुमार शाहीको कमाण्डमा ३ जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।