
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले चोकमा रहेको भिजिट कर्णाली रिसोर्टका सुरक्षा गार्डमाथि कुटपिट भएको छ । वीरेन्द्रनगर–९ घर भएका ४२ वर्षीय सुरक्षा गार्ड कविराज विष्टलाई स्थानीय केही युवाहरुले आक्रमण गरेका हुन् । रिसोर्टका सञ्चालक प्रकाश कुमार शाहीका अनुसार साँझ करिब ६ बजे रिसोर्टको प्राङ्गणमै विष्टमाथि कुटपिट भएको हो ।
उनले आक्रमणबाट विष्टको टाउको र आँखामा गम्भीर चोट लागेको र अहिले उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जानकारी दिए । ‘शुक्रबार राति केही युवाहरु रिसोर्टको रोधीघरमा आएका थिए, तर गेट पास नदेखाउँदा सुरक्षा गार्डसँग सामान्य भनाभन भएको रहेछ,’ सञ्चालक शाहीले भने, ‘त्यही विषयलाई लिएर शनिबार साँझ ती युवाहरु रिसोर्टमा आएर खुकुरी र लात्तिले विष्टमाथि आक्रमण गरे ।’
विष्ट कोठाभित्र कपडा लगाउँदै गरेका बेला उनीहरुले बाहिर ल्याएर कुटपिट शाहीले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले घटनामा संलग्न आक्रमणकारी वीरेन्द्रनगर क्षेत्रकै युवा रहेको र उनीहरुको खोजी भइरहेको जानकारी दिए ।