
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकमा रहेको स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि.र ग्लोवल ओरियन्स नेपाल प्रा.लि.ले विभिन्न प्रलोभन देखाउँदै युवायुवतीहरूमाथि ठगी गरेको आरोपमा कम्पनीका सञ्चालक र कर्मचारीहरू पक्राउ परेका छन् । दुवै कम्पनीले बेरोजगार युवायुवतीलाई सिप सिकाइ, राम्रो तलब सुविधासहित रोजगारी दिलाइदिने भन्दै वार्षिक २० हजार रुपैयाँ शुल्क असुल्ने गरेका थिए ।
साथै खाना, बस्न र कोठा भाडासमेत उपलब्ध गराउने भन्दै उनीहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराई नयाँ सदस्यहरू ल्याउन दवाब दिइएको थियो । नयाँ सदस्य भित्र्याउनका लागि प्रतिव्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म रकम संकलन गरिएको थियो । यस्तो प्रक्रियाबाट कम्पनीले करोडौं रकम ठगी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि.का सञ्चालक तथा कर्मचारीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटी सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा (कम्पनी सञ्चालक), दार्चुला महाकाली गाउँपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रविन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।
यस्तै, कञ्चनपुर महाकाली नगरपालिका–२ की २२ वर्षीया मनिषा सिंह, कञ्चनपुर बेल्डाँडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका–६ की २२ वर्षीया सुनिता साउद र डोटी बडीकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमाल पनि पक्राउ परेको डीएसपी बुढथापाले बताए । पक्राउ परेकाहरूले ठगी कार्य नियोजित रूपमा सञ्चालन गर्दै आएका थिए भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनीहरूविरुद्ध ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।