सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बसपार्कमा एक युवकमाथि गएराति अज्ञात समूहले साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट लेकबेशी नगरपालिका–६ का २२ वर्षीय ललित परियार घाइते भएका छन् । शुक्रवार राति १२ बजेको समयमा वीरेन्द्रनगर बसपार्कमा परियारमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले खबरदृष्टिलाई जानकारी दिए ।
उनकाअनुसार घाइते परियारको आँखामा गम्भीर चोट लागेको छ । घाइते परियारको प्रदेश अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ । स्कुटरमा आएका दुई जनाको समूहले परियारमाथि आक्रमण गरी फरार भएका एसपी शाहीकाे भनाइ छ । प्रहरीले घटनामा संलग्नको खोजी तीव्र बनाएको जनाएको छ ।
‘अहिलेसम्म घटनाको कारण खुल्न सकेको छैन । सामान्य सोधपुछका लागि २०/२५ जनालाई नियन्त्रणमा लिएका छौं,’ एसपी शाहीले भने, ‘तर उनीहरू सबै दोषी हुन् भन्ने छैन । संलग्नको पहिचान गरी कारबाही गर्छौं, निर्दोषलाई छाड्छौं ।’ प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र शङ्कास्पद व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।