२०८२ माघ १७ , शनिबार

जाजरकोटमा बाल विकास शिक्षक र कार्यालय सहयोगीले पाएनन् तलब



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र कार्यालय सहयोगी कर्मचारीहरू वर्ष दिनदेखि तलब नपाएर समस्यामा परेका छन् । उनीहरूले सङ्घीय सरकारले दिने रकम त पाएको भए पनि नगरपालिकाबाट पाइने रकम १ वर्षदेखि नपाएको गुनासो गरेका हुन् ।

सरस्वती प्राथमिक विद्यालय नलगाड नगरपालिका–७ का कार्यालय सहयोगी ओमप्रसाद शर्माले सङ्घीय सरकारबाट पाउने रकम पाएको तर नगरपालिकाबाट पाइने रुपैयाँ अहिलेसम्म नपाएको बताए । शिक्षक शर्मा जस्तै अन्य कर्मचारीहरूले पनि नगरपालिकाबाट तलब नपाएको गुनासो गरिरहेका छन् ।

उनीहरूले घरायसी काम छोडेर विद्यालयमा सेवा दिँदै आएको तर नगरपालिकाले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । यसैबिच करिब एक हप्ता अघि ती कर्मचारीहरू नगरपालिकामा धाएर नाराबाजीसहित आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा सहभागी अधिकांश कर्मचारीले नगरपालिकाले आफूहरूलाई बेवास्ता गर्दै आएको जनाएका थिए । तर नगरपालिकाले आन्दोलनलाई स्थगित गरेर भदौमा सो रकम दिने सहमति गरेको थियो ।

नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख बलबिर विकले नगरपालिकाभित्रका ११६ जना बाल विकास शिक्षक तथा सहयोगी कर्मचारीहरूले तलब नपाएको स्वीकार गरे । उनकाअनुसार कूल १६८ जना शिक्षक र कर्मचारीका लागि करिब ७८ लाख ७९ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ । प्रमुख विकले गत आर्थिक वर्षमा नगरपालिकामा बजेट अभाव भएका कारण भुक्तानी दिन समस्या परेको बताए ।

साथै आगामी असोजको पहिलो सातासम्म बाँकी रकम भुक्तानी गरिने उनले बताए । प्रमुख विकले ती कर्मचारीहरूले पाउने रकम नियमित तलब नभई ‘प्रोत्साहन भत्ता’ भएको स्पष्ट गरे । साथै, चालु आर्थिक वर्षदेखि पालिकाले उक्त रकम नदिने निर्णय गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार