
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार सिम्ता गाउँपालिकाको आयोजनामा गरिएको उक्त शिविरबाट ५२५ जनाले स्वास्थ्य सेवा लिएका छन्। गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दका अनुसार शिविरमा महिला, पुरुष, ज्येष्ठ नागरिक तथा बालबालिकाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका थिए।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आँखा, दन्त, रक्तचाप, मधुमेह जाँच तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको अध्यक्ष चन्दले बताए।
उनले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइने जानकारी दिए। शिविरमा स्थानीय स्वास्थ्यकर्मी तथा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार