
जाजरकोट । कर्णाली प्रदेशका पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले जाजरकोटबाट नेपाली कांग्रेसका उम्मेदवार खडक बहादुर बुढा विजयी हुने दाबी गरेका छन्।
बिहीबार जुनीचाँदे गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति सिंहले तत्कालीन माओवादी केन्द्रका उम्मेदवार शक्ति बस्नेत र नेकपा एमालेका डम्बरबहादुर सिंहलाई बुढाले पराजित गर्दै चुनाव जित्ने र निर्वाचित भएपछि मन्त्री समेत बन्ने बताएका हुन्।
उनले जाजरकोटका ‘हेभीवेट’ नेता बस्नेतलाई पराजित गरी बुढाले कांग्रेसको शीर उच्च बनाउने विश्वास व्यक्त गरे। “२०७९ मा गठबन्धन हुँदा मैले गरेको भाषणलाई नेकपाले अहिले जनताको माझमा गएर मत मागिरहेको छ,” सिंहले भने, “तत्कालीन माओवादीको भिजन, एजेण्डा र विचार सबै समाप्त भइसकेको छ।”
सभापति सिंहले युवा, जनता र परिवर्तनको सम्भावना अब बुढामा मात्र रहेको दाबी गरे। उनले देशैभरबाट नेपाली कांग्रेसले चुनाव जित्ने, गगन थापा प्रधानमन्त्री बन्ने र उनको मन्त्री परिषदमा खडक विसी मन्त्री बन्ने समेत दाबी गरे।
उनले नेकपाले पटक–पटक चुनाव जितेर सरकारमा पुगे पनि जाजरकोटको विकास निर्माणमा अपेक्षित चासो नदिएको आरोप लगाए। साथै, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन पार्टीका कार्यकर्ताहरूलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।