२०८२ माघ १७ , शनिबार

जाजरकोटका मतदाताहरूले युवा उम्मेद्वार खडकलाई जबर्जस्त जिताउन खोजेका छन् : बेदराज सिंह



जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका सभापति तथा कर्णाली प्रदेशसभा सदस्य बेदराज सिंहले जाजरकोटका मतदाताहरूले सामान्य परिवारबाट आएका खडक बुढालाई जबर्जस्त जिताउन खोजेको बताएका छन्। शनिवार नेपाली कांग्रेस जाजरकोटले खलंगामा आयोजना गरेको उम्मेदवारसँग पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जाजरकोटमा यसपटक कांग्रेसको जित सुनिश्चित बताएका हुन्।

सिंहले एमालेका नीरज आचार्य उम्मेदवार बनेमा मात्र प्रतिस्पर्धा हुने उल्लेख गर्दै उनले डम्बरबहादुर सिंह र नेकपाका उम्मेदवार शक्ति बस्नेतसँग कांग्रेसको कडा प्रतिस्पर्धा नहुने दाबीसमेत गरे। शक्ति बस्नेतलाई हेभीवेट नेता भनिए पनि मतदाताले उनलाई जिताउन नचाहेको सिंहको भनाइ थियो। उनले जाजरकोटले युवा नेतृत्व खोजिरहेको भन्दै कांग्रेसबाट खडकबहादुर बुढा निर्वाचित हुने दाबी गरे।

साथै, सबै कार्यकर्तालाई मत बढाउने अभियानमा सक्रिय हुन निर्देशनसमेत दिए। सिंहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै देशलाई अस्थिर बनाउने तत्वहरूले नेतृत्व लिन खोजिरहेको आरोप लगाउँदै कांग्रेसले नजिते देशको भविष्य अन्योलमा पर्ने बताए। ‘कांग्रेसले चुनाव नजिते यो व्यवस्था रहँदैन, व्यवस्था नरहे देशै रहँदैन,’उनले भने।

उनले नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनाव जितेर देशको प्रधानमन्त्री बन्ने दाबीसमेत गरे। जाजरकोटमा शक्ति बस्नेत पराजित हुने र खडकबहादुर बुढा गगन थापाको नेतृत्वमा मन्त्री बन्ने अवस्था बनेमा जाजरकोटका लागि ठूलो सौभाग्य हुने सिंहको भनाइ थियो। उनले नागरिकले चाहेमा जे पनि सम्भव हुने उल्लेख गर्दै गत भदौ २३ र २४ गते भएको आन्दोलनले त्यसको उदाहरण देखाएको बताए।

प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार