२०८२ माघ १७ , शनिबार

कर्णाली सरकारले विपन्न र असहाय बिरामीलाई यातायात खर्च दिने



सुर्खेत । कर्णाली प्रदेश सरकारले विपन्न, असहाय र बेवारिसे नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यक पर्ने यातायात खर्च उपलब्ध गराउने भएको छ। प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ का लागि यो कार्यक्रम सञ्चालन गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

मन्त्री घनश्याम भण्डारीका अनुसार भौगोलिक दूरीको आधारमा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्मको यातायात भाडा वा उपचार खर्च दिइनेछ। मन्त्री भण्डारीले उपचारको अभावमा घरमै बस्न बाध्य विपन्न वर्गलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु र कर्णालीका धेरै नागरिकहरू आर्थिक अभावका कारण अस्पताल पुग्न वा फर्किन नसक्ने अवस्था देखिएकोले यस्तो सहयोगी कार्यक्रम ल्याइएको बताए ।

यस सुविधाका लागि सेवाग्राहीले वडाको सिफारिस वा उपचार गरिएको अस्पतालको सिफारिससहित मन्त्रालयमा निवेदन दिनुपर्नेछ। सिफारिसपछि भौगोलिक दूरीअनुसार सम्बन्धित बिरामी वा आफन्तको बैंक खातामा मन्त्रालयले यातायात खर्च उपलब्ध गराउनेछ। मृतकको हकमा मृत्युदर्ता प्रमाणपत्र र हकवालाको बैंक विवरण अनिवार्य गरिएको छ।

यसबाहेक, उपचारका क्रममा मृत्यु भएका र धार्मिक संस्कार गर्न नसक्ने अवस्थाका लागि शव वाहन वापतको खर्चसमेत सरकारले व्यहोर्ने व्यवस्था मिलाएको छ। त्यसका लागि मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्य महाशाखा प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख र चिकित्सा शाखा प्रमुख रहने गरी एक समिति गठन गरिएको छ।

मन्त्री भण्डारीका अनुसार संघीय सरकारले दीर्घरोगीहरूलाई दिँदै आएको उपचार खर्च बाहेक प्रदेश सरकारले थप एक लाख रुपैयाँ बराबरको उपचार सहयोग पनि उपलब्ध गराउनेछ। साथै, प्रदेश अस्पतालमा मृगौलाको डायलाइसिस गराउने बिरामीहरूलाई निःशुल्क सेवा दिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार