२०८२ माघ १७ , शनिबार

सुर्खेत बहुमुखी क्याम्पसमा बिबिए सञ्चालनकाे तयारी

व्यवस्थापन सीप विकासमा सहयोग पुग्ने अपेक्षा


सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा यसवर्षदेखि ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए) कार्यक्रम सञ्चालन हुने भएको छ । शनिवार सम्भाव्यता अध्ययन, अन्तरक्रिया कार्यक्रम तथा स्थलगत अनुगमनपछि यसबारे औपचारिक जानकारी दिइएको हो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका पुर्व डिन डिल्लीराज शर्मा नेतृत्वको टोलीले यसैवर्षदेखि सुर्खेतमा बिबिए सञ्चालन गर्न सकिने निष्कर्ष निकालेका छन् ।

शर्माले कठिनाइका बाबजुद पनि कार्यक्रम सञ्चालन सम्भव भएको बताउँदै यसलाई व्यवस्थित र फरक ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए । उनले बिबिए पाठ्यक्रमले विद्यार्थीलाई रोजगारी तथा अवसर सिर्जनामा सहयोग पुर्‍याउने भएकाले यसलाई जागिरमुखी मात्र नभई व्यावसायिक क्षमतावृद्धिको कार्यक्रमको रूपमा लिनुपर्ने बताए । साथै उनले विगतमा क्याम्पसमा राजनीति हाबी हुँदा धेरै कार्यक्रम प्रभावित भएको उल्लेख गर्दै अब राजनीति नगरी शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

त्यसैगरी सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव प्रसाद खनालले विद्यार्थीहरूको माग र आवश्यकताका आधारमा बिबिए कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । उनका अनुसार सुर्खेतमा बिबिए नहुँदा यहाँका धेरै विद्यार्थी अन्य ठाउँ जान बाध्य भएका थिए । ‘बजारमुखी शिक्षा प्रणाली अपरिहार्य भएको वर्तमान परिस्थितिमा बिबिए अत्यन्तै उपयुक्त कार्यक्रम हो,’ खनालले भने, ‘हामी यसलाई सफल बनाउन प्रतिबद्ध छौँ ।,’

उनका अनुसार बिबिए कार्यक्रम सञ्चालन हुनुले सुर्खेतका विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणवत्तापूर्ण व्यावसायिक शिक्षा हासिल गर्ने अवसर दिनेछ । साथै यसले विद्यार्थीको बौद्धिक क्षमता, व्यवस्थापन दक्षता र नेतृत्व सीप विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार