सुर्खेत । कर्णाली प्रदेशका सम्पूर्ण जेनजीसहित कर्णाली संयोजक सुप्रिया राज्यलक्ष्मी शाहीले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श विक्रम श्रेष्ठमाथि उठेका आरोपहरूको छानबिन गर्न सरकारसँग माग गरेकी छन्। मिडियामा सार्वजनिक भएका समाचारहरूले जेनजी आन्दोलनका सहभागीहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरूले घटनाको सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन्।
संयोजक शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रमुख स्वकीय सचिवमाथि उठेका सवाल–जवाफ गम्भीर प्रकृतिको भएकाले छानबिन टुंगुिनु अघि नै उनलाई निलम्बन गर्नुपर्ने उल्लेख छ। साथै, दोषी ठहरिए कानूनी प्रावधानअनुसार कडा कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।
विज्ञप्तिमा भनिएको छ, “विश्वकै इतिहासमा विरलै देखिने राजनीतिक घटनामध्येको एक बनेको नेपालको जेनजी आन्दोलनले भ्रष्टहरुलाई सत्ताच्युत पारेर स्वच्छ शासनको आशा जगाएको थियो। आम नेपालीको त्याग, समर्पण र समर्थनले सफल बनेको आन्दोलनका शहीदहरूको रगत सुक्न नपाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवबारे उठेको प्रश्न आन्दोलनमाथिको घोर अनादर हो।”
‘अहिलेका विशिष्ट परिस्थितिमा सरकार र उसका जिम्मेवाला पदाधिकारीहरूले जनमैत्री र पारदर्शी शासन अभ्यास गरेर आन्दोलनको औचित्य प्रमाणित गर्नुपर्ने उल्लेख छ। “परिवारवादका विरुद्ध चलेको आन्दोलनको जगमै बसेर परिवारवादको रूप देखाउनु आन्दोलनको हत्या हो,” विज्ञप्तिमा भनिएको छ।
