२०८३ वैशाख ३ , बिहीबार

चामुण्डामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु



दैलेख । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । मंगलबार चामुण्डाबिन्द्रासैनी नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा “प्रविधिको सहित प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नारासहित कार्यक्रम सुरु भएको हो ।

नगरपालिकाका विभिन्न शाखा स्थानीय जनप्रतिनिधि, महिला समूह, किशोरी क्लब, सामाजिक संस्था तथा शिक्षालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उद्घाटन कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि संयुक्त प्रयास र दीर्घकालीन रणनीतिक हस्तक्षेप आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर उप–प्रमुख मनसरा कुमारी शर्माले लैङ्गिक हिंसा केवल व्यक्तिगत समस्या होइन, सामाजिक संरचना र सोचसहित जोडिएको जटिल विषय भएको उल्लेख गरिन् । उनका अनुसार महिलामाथि हुने हिंसा रोकथामका लागि स्थानीय तहले अपनाइरहेका नीतिगत र कार्यक्रमगत पहललाई अझ प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता आवश्यक छ ।

“हिंसा पीडित महिलाले सहज रूपमा न्याय र सेवा पाउनोस, सुरक्षित वातावरणमा बाँच्न पाउनोस भन्ने हाम्रो मुख्य लक्ष्य हो,” उप–प्रमुख शर्माले भनिन् । उनले प्रविधिको सशक्त प्रयोगले हिंसा पहिचान, निगरानी तथा उजुरी प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गरिन् । त्यस्तै, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मायाकुमारी सिंहले लैङ्गिक हिंसाका प्रकार, यसको सामाजिक–आर्थिक प्रभाव, हिंसा रोकथाममा स्थानीय तहको भूमिका तथा नागरिकस्तरको जिम्मेवारीबारे विस्तृत प्रस्तुति दिइन् ।

उनका अनुसार लैङ्गिक हिंसासँग जोडिएका मुद्दाहरू धेरैजसो घर–परिवारमै लुकाइने हुँदा उजुरी प्रक्रियालाई सहज, सुरक्षित र गोप्य बनाउने प्रयास हुँदै आएको छ । “हामी केवल घटनापछि उपचार र सहयोग गर्ने मात्र होइन, रोकथाममुखी कार्यक्रमलाई बलियो बनाउँदैछौँ,” सिंहले भनिन्। अभियानको अवधि भरि सचेतना, महिला समूहसँग अन्तरक्रिया, हिंसा रोकथामसम्बन्धी तालिम, प्रविधिमूलक सीप अभिवृद्धि, पुरुष सहभागिता प्रवद्र्धन कार्यक्रम, सडक नाटक, र्याली तथा सामुदायिक संवादका गतिविधि सञ्चालन उनले बताइन् ।

उप प्रमुख शर्माको अध्यक्षता भएको कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न शाखाका प्रमुख, प्रहरी चौकी जम्बुकाँधका प्रमुख एव्म प्रतिनिधि अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । चामुण्डाबिन्द्रासैनी नगरपालिकाले प्रत्येक वर्ष १६ दिने अभियानलाई विशेष महत्वका साथ मनाउँदै आएको छ। यस वर्ष प्रविधिकै माध्यमबाट लैङ्गिक हिंसा रोकथाममा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विभिन्न नविन कार्यक्रम सार्वजनिक गरिएका छन्। स्थानीयहरूले यस्तो अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार