
विराटनगर । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा एकलौटी गरिएको भन्दै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिष्कार गरेको छ। बहिष्कार गर्नु अघि केही मतदान बुथमा असन्तुष्ट पक्षले तोडफोड गरेको समेत प्रहरीले जनाएको छ। एमालेको महाधिवेशनका लागि प्रतिनिधि छनोट सर्वसम्मत नभएका जिल्लाहरूमा आज निर्वाचन भइरहेको छ।
धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्ष गरी दुई समूह रहेका छन्। इन्द्रमणी समूहले मतदातालाई जानकारी नै नदिई राई पक्षले एकलौटी ढंगले निर्वाचन गरेको आरोप लगाउँदै बहिष्कार गरेको हो। पराजुलीले राई पक्षले आफूहरूलाई थाहा नदिई आफ्नै नजिकका व्यक्तिलाई निर्वाचन अधिकृत तोकेको आरोप लगाए। उनका अनुसार पार्टी कार्यालयस्थित मतदान केन्द्रमा फर्जी मत खसालिएको भेटिएपछि विरोधस्वरूप मतपेटिका फालिएको र केन्द्रमा तालाबन्दी गरिएको हो।
धनकुटामा लामो समयदेखि राजेन्द्र राई पक्षको वर्चस्व रहँदै आएको छ। हिजो साँझ ९–४ को सहमति भएको दाबी गर्दै पराजुलीले ९ जना राई पक्ष र ४ जना इतर समूहबाट प्रतिनिधि पठाउने सहमति बनेको बताए। सहमति अनुसार ४ जना बाहेकले मनोनयन फिर्ता लिएपछि आज बिहानबाट निर्वाचन प्रक्रिया सुरु भएको उनको दाबी छ। तर राजेन्द्र राईले भने सर्वसम्मत सहमति नबनेपछि निर्वाचन प्रक्रिया अघि बढेको बताउँदै पराजुली समूहले पराजय निश्चित भएपछि अराजकता मच्चाएको आरोप लगाए।