२०८२ फागुन ३ , आइतबार
प्रतिनिधि सभा निर्वाचन

जाजरकोटमा कांग्रेसबाट खडकबहादुर बुढा उम्मेदवार




सुर्खेत ।
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोटबाट खडकबहादुर बुढालाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा कांग्रेसका जिल्ला कार्यवाहक सभापति समेत रहेका बुढालाई पार्टीले उम्मेदवार बनाएको हो ।

बुढा यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा शिवालय गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । उक्त निर्वाचनमा उनले १ हजार ८ सय ३३ मत प्राप्त गर्दा एमालेका जिल्ला अध्यक्ष नरेन्द्रकुमार शाहीले २ हजार ७३ मत ल्याएर विजय हासिल गरेका थिए । शाही हाल परिवारसहित अमेरिका पलायन भएका छन् ।

जाजरकोटमा कांग्रेसभित्र बुढालाई बौद्धिक र संगठनात्मक नेता मानिन्छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार उनलाई औपचारिक रूपमा टिकट प्रदान गरेको हो । टिकट पाएसँगै जाजरकोटका युवा वर्गले उनको उम्मेदवारीको स्वागत गरेका छन् ।

जाजरकोट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट डम्बरबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट शक्ति बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राघव कार्की उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार