२०८२ माघ १७ , शनिबार

सिम्ता-२ काफलकोटमा १ सय २४ जना बढीले गरे रास्वपा प्रवेश



सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–२ काफलकोटमा १२४ जना भन्दा बढी व्यक्तिले एकैपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी उनीहरू रास्वपामा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका रास्वपाका नेता टेकबहादुर सिंहले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागितासँगै झण्डै सयौंको संख्यामा समर्थक भेला भएपछि काफलकोट क्षेत्र रास्वपामय बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले पुराना दलको निराशाजनक राजनीति र जनअपेक्षाअनुसार काम हुन नसकेको अवस्थाका कारण नागरिकहरू वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भएको बताए। उनले भने, “देशमा अब पुरानो शैलीको राजनीति चाहिएको छैन।

सुशासन, जवाफदेहिता र नागरिकको वास्तविक समस्यामा आधारित राजनीति रास्वपाको मुख्य एजेन्डा हो। यही कारण आज जनताले स्वस्फूर्त रूपमा पार्टी रोजिरहेका छन्।”

सिंहका अनुसार रास्वपाप्रति बढ्दो जनसमर्थनले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास बढाएको छ। ‘पूर्वी सुर्खेतमा अहिले रास्वपा प्रवेश गर्नेहरूको लहर चलेको छ। यो परिवर्तनको संकेत हो,’ उनले थपे।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार