काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ। आयोगले बिहीबार दोलखाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका खरेललाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार खरेलले निर्वाचन आचारसंहिता, २०८२ को उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधिएको हो। आयोगले पठाएको पत्रमा आचारसंहिताविपरीत दलको झण्डा प्रयोग गरिएको तथा आचारसंहिताले तोकेको २५ जनाभन्दा बढीको जुलुससहित मनोनयन दर्ता गरिएको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न भनिएको छ।
यदि त्यस्तो कार्य गरेको पुष्टि भएमा किन निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही नगर्नु पर्ने हो भन्नेबारे कारणसहित स्पष्टीकरण पेस गर्न आयोगले आग्रह गरेको छ। पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन आयोगमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।