२०८२ माघ १७ , शनिबार

जाजरकोटमा निर्वाचन प्रहरीकाे लिखित परीक्षा, एक हजार ३४४ जना सहभागी



सुर्खेत। फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षाका लागि खटिने प्रहरी जनशक्ति छनोट प्रक्रियाअन्तर्गत जाजरकोटमा लिखित परीक्षा सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोट र सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर जाजरकोटको संयुक्त आयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा लिखित परीक्षा सञ्चालन गरिएको हो।

परीक्षामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालतर्फ आवेदन दिएका उम्मेदवारहरूको सहभागिता रहेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिनकुमार खड्काका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ ८८६ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना गरी कुल ९८२ जना जनशक्ति आवश्यक पर्ने माग गरिएको छ।

‘उक्त मागअनुसार प्रहरी छनोट प्रक्रिया पारदर्शी र व्यवस्थित रूपमा अघि बढाइएको छ,’ खड्काले बताए। प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरीतर्फ एक हजार ४१३ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ १७३ जना गरी जम्मा एक हजार ५८६ जनाले आवेदन दिएका थिए। प्रारम्भिक चरणको शारीरिक तन्दुरुस्ती परीक्षामा ११३ जना फेल भएका छन् भने १२९ जना उम्मेदवार अनुपस्थित रहेका थिए।

शारीरिक तन्दुरुस्ती परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारको संख्या एक हजार ३४४ पुगेको छ। लिखित परीक्षा सम्पन्न भएपछि बाँकी प्रक्रियाअनुसार अन्तिम छनोट गरी प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटाइने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार