२०८२ माघ १७ , शनिबार

सल्यानका कम्युनिष्ट नेता शाह संगठन निर्माण र कर्णाली विकासका भरोसायोग्य अनुहार



सुर्खेत । नेकपा एमालेका अनुभवी नेता गुलाबजङ् शाह कर्णाली प्रदेशको राजनीतिमा संगठन निर्माण र विकास एजेन्डाका बलिया पक्षधरका रूपमा परिचित छन्। हाल नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष रहेका शाह असोज २०८० मा सम्पन्न पार्टीको प्रथम प्रदेश अधिवेशनबाट निर्वाचनमार्फत नेतृत्वमा आएका हुन्। सल्यान जिल्लाबाट उदाएका शाहले आफ्नो राजनीतिक यात्रा २०४० को दशकमा अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) मार्फत सुरु गरेका थिए।

विद्यार्थी राजनीतिका क्रममा उनले संगठन निर्माण, नेतृत्व विकास र राजनीतिक चेतनाको अभ्यास गरे । जसले उनलाई पार्टीको मूलधारको राजनीतिमा स्थापित गरायो। विद्यार्थी आन्दोलनपछि शाह सल्यान जिल्लामा पार्टी संगठन विस्तारमा सक्रिय रहे। जिल्लास्तरको नेतृत्वदायी भूमिका र संगठनात्मक योगदानका कारण उनी क्रमशः नेकपा (एमाले) केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारीमा पुगे।

संघीयता कार्यान्वयनसँगै २०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भए। प्रदेशसभामा रहँदा उनले कर्णालीको विकास, सुशासन र जनजीविकासँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाए। यही अवधिमा उनी प्रदेशसभा दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेर संसदीय अनुशासन र दल व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरे।

नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि शाह पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा आगामी निर्वाचन रणनीति निर्माणमा केन्द्रित छन्। संगठनभित्र खारिएको, जरा–आधारित राजनीति गर्ने र कर्णाली केन्द्रित विकासका पक्षधर नेताका रूपमा उनी चिनिन्छन्। हाल गुलाबजङ् शाह आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सल्यान जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

विद्यार्थी आन्दोलनदेखि प्रदेश नेतृत्वसम्मको उनको राजनीतिक यात्रा निरन्तर संघर्ष, संगठनप्रति प्रतिबद्धता र नेतृत्व क्षमताको उदाहरणका रूपमा हेरिएको छ।  सल्यानमा १४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन्। ती मध्ये मु्ख्य भीडन्त तीन दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपाबीच हुने देखिन्छ। एमालेबाट शाहसँगै नेपाली कांग्रेसबाट केशबहादुर विष्ट र नेपाली कम्युनिस्ट पार्टीबाट रमेशकुमार मल्ल चुनावमा होमिएका छन्।

यस्तै, सल्यानबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्तोषकुमार राईले उम्मेदवारी फिर्ता लिँदै एमालेका उम्मेदवार शाहलाई समर्थन गर्ने घोषणा गरेका छन्। सल्यानमा शाह बलियो उम्मेदवारका रुपमा देखिएका छन्।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार