
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सम्पन्न गाउँपालिका स्तरीय अन्तरविद्यालय सातौँ अध्यक्ष कप तथा १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता विवादित बनेको छ। गत माघ २ देखि ५ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता विभिन्न कारण देखाउँदै माघ ७ देखि ९ गतेसम्म सारिएको थियो।
प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालय सहभागी थिए। माघ ९ गते रातिदेखि परेको अविरल वर्षाका कारण निर्माणाधीन खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न कठिन भएपछि आयोजकले गैरीबजार सडक खण्डमा १०० मिटर दौड सम्पन्न गराएको थियो। मौसम प्रतिकूलता, समय अभाव तथा अधिकांश विद्यालयको आग्रहलाई ध्यानमा राख्दै रिले दौड नगरी भलिबलतर्फ सेमिफाइनल र फाइनल खेल मात्र सञ्चालन गरी प्रतियोगिता समापन गर्ने निर्णय वरिष्ठ शिक्षा अधिकृतसहित सरोकारवालाहरूको सहमतिमा गरिएको थियो।
तर, सरस्वती माध्यमिक विद्यालय सिमामा फर्जी विद्यार्थी सहभागी गराइएको पाइएपछि विवाद उत्पन्न सुरू भयो। प्रधानाध्यापक, शिक्षा शाखा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा भएको छलफलमा सुर्खेतस्थित एक विद्यालयका विद्यार्थी खेलाइएको प्रमाण भेटिएपछि केही पदक खारेज गर्ने निर्णय गरिएको थियो। त्यसपछि सार्वजनिक गरिएको प्रारम्भिक नतिजाअनुसार प्रथम वीरेन्द्र माध्यमिक विद्यालय (६ स्वर्ण), द्वितीय चन्द्रदीपक माध्यमिक विद्यालय (५ स्वर्ण) र तृतीय सरस्वती माध्यमिक विद्यालय (४ स्वर्ण) रहेका थिए।नतिजा सार्वजनिक भइसकेपछि समापन समारोहको तयारीसमेत गरिएको थियो।
तर सोही क्रममा सरस्वती माध्यमिक विद्यालयले रिले दौड पुनः सञ्चालन गर्नुपर्ने मागसहित विरोध जनाएपछि वरिष्ठ शिक्षा अधिकृत मानबहादुर बस्नेतले माइकिङ गर्दै भोलिपल्ट रिले गरिने जानकारी गराएका थिए। लामो समयसम्म प्रतियोगिता लम्बिँदा बसोबास र व्यवस्थापन समस्या भएको जनाउँदै अधिकांश विद्यालयहरूले थप खेलमा सहभागी नहुने निर्णय गरे। केही विद्यालयका शिक्षक तथा विद्यार्थीहरू सोही साँझ घर फर्किएका थिए ।
तर, आइतवार बस्नेत र र प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीको पहलमा केही विद्यालय मात्र सहभागी गराई पुनः रिले दौड गराइएको र त्यसको आधारमा नतिजा उल्ट्याइएको आरोप लगाइएको छ। सुरुमा प्रथम भएको वीरेन्द्र माध्यमिक विद्यालयलाई द्वितीय र सरस्वती माध्यमिक विद्यालयलाई प्रथम घोषणा गरिएको वीरेन्द्र माविका शिक्षक वीरेन्द्र शाहीले बताए। उनले वरिष्ठ शिक्षा अधिकृत बस्नेतको मिलेमतोमा नतिजा फेरबदल गरिएको आरोप लगाए।
बस्नेतको मिलेमतो भएको भन्दै सामाजिक सञ्जालमार्फत शिक्षक र विद्यार्थीहरूले तीव्र आलोचना गरेका छन्। उनीहरूले बाहिरबाट खेलाडी ल्याएको विषयमा कारबाही गर्नुपर्नेमा उल्टै प्रोत्साहन गरिएको भन्दै बस्नेतको भूमिकामाथि प्रश्न उठाएका छन्। यस विषयमा बुझ्न शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाही र वरिष्ठ अधिकृत बस्नेतलाई सम्पर्क गर्दा उनीहरू दुवै जनाले फोन उठाएनन्।